स्थानीय तहको सभा सञ्चालनसम्बन्धी विधेयक पारित

रिपोर्ट नेपाल | 2018 May 25 | 03:07 am 3408

पोखरा, जेठ ११: प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक २०७५ सर्वसम्मत पारित गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयक पारित गरियोस् प्रस्ताव राखेका थिए ।

विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, मणिभद्र शर्मा, गायत्री गुरुङ, कृष्ण थापा र हरिशरण आचार्यले भाग लिँदै विधेयकले कार्य सञ्चालन व्यवस्थित एवम् प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिलामन्त्री चुमानले विधेयकले स्थानीय तहलाई गतिशील बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अधिवेशन अन्त्य

प्रदेश नं ४ को चालु अधिवेशन अन्त्य भएको छ । बैठकमा सभामुख नेत्रनाथ अधिकारीले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश प्रमुख बाबुराम कुँवरले आजै राति १२:०० बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका व्यहोराको पत्र पढेर सुनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.