ललितपुर, असाेज २३ः उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा स्थानीय तहले बनाएको आइसोलेसनमा बस्ने संक्रमितको संख्या शून्य प्रायः छ ।
ललितपुर महानगरपालिकाले ५० जना महिला र उनीहरुका बालबालिका राख्न मिल्ने गरी सञ्चालन गरेको आइसोलेसनमा ३ जना महिला मात्र बसिरहेका छन् ।
स्थानीय तहले निर्माण गरेको आइसोलेसन सेन्टरमा भन्दा होम आइसोलेसनमा बस्न उचित ठान्ने प्रवृत्तिका कारण पछिल्लो समयमा आइसोलेसन खाली भएको हो ।
ललितपुर महानगरपालिका कोभिड सम्पर्क अधिकृत देवी गुरुङले आइसोलेनमा संक्रमित आउन छाडेको बताए । उनले भाडामा बसेका र आफूसँग साना बच्चा रहेका महिलालाई लक्षित गरी सो आइसोलेसन सेन्टर तयार गरिएको जानकारी दिए ।
उनले भने– घरमा बस्न रुचाएर हो वा महिलाका लागि मात्र सञ्चालन गरेको आइसोलेसन रहेको छ भन्ने विषयमा जानकारी नभएर हो सो आइसोलेसन सेन्टरमा आउनेको महिना न्यून रहेको छ ।
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल युथ फाउन्डेसनले पोषण पुनर्स्थापना गृहका घरमा आइसोलेसन सेन्टर निर्माण गरेको थियो । महानगरले सो आइसोलेसन सेन्टरमा समस्यामा परेका महिला र उनका बालबच्चालाई ल्याउन पटकपटक आग्रह गरिसकेको छ ।
उत्कृष्ट व्यवस्थापन गर्दासमेत आइसोलेसनमा बस्ने महिला आउन छाडेको गुरुङको भनाइ थियो । उक्त आइसोलेसनमा बस्ने महिलालाई औषधीदेखि खानालगायत व्यवस्थापन महानगरको सहयोगमा फाउन्डेसनले गर्दै आएको थियो । नेपाल समाचारबाट