काठमाडौँ, २० माघ / माघ २१ गते सोमवार भोलि लुम्बिनी प्रदेश स्थापना भएको दिन। लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रूपमा मनाउँदैछ ।
प्रदेश स्थापना दिवसमा लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ । हरेक वर्ष माघ २१ लाई प्रदेशसभा स्थापना दिवस र फागुन ३ लाई सरकार स्थापना दिवसको रूपमा मनाउँदै आएको छ ।
प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदै छ । प्रदेश प्रमुखको विशेष उपस्थितिमा मूल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजासहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका स्टलहरू समेत राखिने छन् ।
शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले आ–आफ्नो क्षेत्रभित्रको कला, संस्कृति र भेषभूषासहित झाँकी प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।
झाँकीहरूको बीचमा प्रतिस्पर्धा गरिने, प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।