काठमाडौँ, १३ मङ्सिर । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीज्यूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएको विचार साँच्चिकै मननीय र समयसापेक्ष छन्।
समाजमा उमेर, अनुभव र पुस्ताबीचको दूरी बढाउने होइन, आपसी सम्मान, सद्भाव र सहकार्यको भावना विकास गर्न आवश्यक छ भन्ने सन्देश उहाँका शब्दहरूमा स्पष्ट देखिन्छ।
अग्रजलाई उमेरका आधारमा अपमान होइन, सम्मान गरौँ। नयाँ पुस्तालाई प्रश्न र आलोचनाले निरुत्साहित होइन, अवसर र प्रोत्साहनले उत्साहित बनाऔँ। अरूलाई उपदेश दिनुभन्दा आफ्नै कर्म र व्यवहारबाट उदाहरण प्रस्तुत गरौँ।
समाजमा कसैलाई होच्याउने, अपमान गर्ने र दुरुत्साहित गर्ने प्रवृत्तिभन्दा एकअर्कालाई स्वीकार गर्ने, सिक्ने, सिकाउने र हातेमालो गर्दै अघि बढ्ने संस्कारको खाँचो छ।
समय कसैका लागि रोकिँदैन। आजको युवा भोलि अग्रज बन्छ र आजका अग्रज पनि कुनै समय युवावस्थामै थिए। त्यसैले पुस्ता परिवर्तन हुँदैमा सोचमा संकीर्णता होइन, विचार र व्यवहारमा उदारता आउनुपर्छ।
उमेरले होइन, विचारले आफूलाई नयाँ बनाऔँ। शब्दले होइन, संस्कार र कर्मले आफ्नो पहिचान बनाऔँ।
उपसभापति चन्द्र भण्डारीज्यूले उठाउनुभएको यो विचार केवल सामाजिक सञ्जालको अभिव्यक्ति मात्र नभई हरेक पुस्ता, हरेक व्यक्ति र समग्र समाजले आत्मसात् गर्नुपर्ने जीवनोपयोगी सन्देश हो।
जय नेपाल