काठमाडाैं, बैशाख ६ः साेमबार बलाधिकृत रथी प्रभुराम शर्माले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२८ कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गरेका छन् ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हिरालाल जोशीले स्वागत मन्तव्य व्यक्त गरिएकाे उक्त कार्यक्रममा बलाधिकृत रथी शर्माले तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सम्बोधन गर्दै तालिमको सफलताको लागि शुभकामना दिएका थिए ।
सोहि अवसरमा उक्त तालिममा सहभागी विदेशी शिक्षार्थीहरुले कलेज परिसरमा रहेको “कैलाश ग्रीन” ग्राउण्ड ईलाकामा आ-आफ्नो देशको झण्डोत्तोलन समेत गरेका थिए ।
मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण उक्त तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत ५ जना सहित ५९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, मलेसिया, माल्दिभ्स र लेवनानका १/१ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ७२ जना अधिकृतहरु सहभागी छन् ।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि १२ जना शिक्षार्थी अधिकृतहरु
समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको थियो । हालसम्म नेपाली सेनाबाट ९८१, विभिन्न मित्रराष्ट्रहरुका ८९, नेपाल प्रहरीबाट १२, सशस्त्र प्रहरी बलबाट २४, राष्ट्रिय अनुसन्धान विभागबाट १५ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा ११२२ जना शिक्षार्थी अधिकृतहरु उक्त तालिमबाट दिक्षित भएका छन् ।
कोभिड-१९ को सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर संचालन गरिएको उक्त कार्यक्रममा बालाधिकृत रथी श्री प्रभुराम शर्मा, पूर्व कमाण्डाण्टहरु, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनीधिहरु, रक्षा मन्त्रालयका सह सचिव, मित्रराष्ट्रका सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो ।