सेवा प्रवाहलाई कमजोर नबनाउन मन्त्री पण्डितको निर्देश

रिपोर्ट नेपाल | 2018 Jun 09 | 10:16 pm 3076

बुटवल,जेठ २६: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको संयुक्त आयोजनामा आज बुटवलमा आयोजित ‘प्रशासकीय पुनःसंरचनाको सन्दर्भमा सेवा प्रवाहको स्थिति र तहगत अन्तरसम्बन्ध’ विषयक प्रदेशस्तरीय अन्तर्कृयामा मन्त्री पण्डितले कर्मचारीको योगदान र कार्यसम्पादनका आधारमा मूल्यांकन हुने बताए ।

राष्ट्रसेवक कर्मचारीहरुका लागि काम गर्नेलाई सम्मान र नगर्नेलाई दण्डको व्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री पण्डितले असल सहकार्य र प्रगतिमा योगदान गर्न पनि आग्रह गरे । प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी रहेको उक्त अन्तर्कृयामा मन्त्री पण्डितले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरिक हुन आग्रह गरे ।

उनले कुनै पनि कर्मचारीले अप्ठ्यारो नमान्ने गरी सबै कुराको व्यवस्थापन मिलाउन लागेको भन्दै कुनै पनि बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री पण्डितले सरकारले नयाँखालको मर्यादाक्रम बनाउन लागेको समेत बताए ।

उक्त कार्यक्रममा प्रदेश सरकारका भौतिक योजना तथा यातायात मन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रमुख सचिव डा शंकर पाठक, सचिव दीपेन्द्र काफ्ले, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्यलगायतले परिवर्तनको अनुभूति हुनेगरी काम गर्न जरुरी रहेको बताएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.