सेवाका नाममा धर्मशालामा व्यापार

रिपोर्ट नेपाल | 2023 Jan 06 | 08:03 am 1185

काठमाडौँ, पुस २२ः अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ ।

पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको छ । सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्नुहुन्छ । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को छ ।”

धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिर्छन् ।

सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए । उनले धर्मशालाबाट उठ्ने भाडा पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा गर्नुहुन्छ ! प्रक्रिया मिलाएको छ, अफिस आउनुस्, देखाउँला ।”

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले विश्व सम्पदा पशुपतिनाथको सम्पत्तिमाथि सेवा समितिले दोहन गरिरहेको बताए । उनले कोषलाई वार्षिक ५१ हजार रुपियाँ बुझाउने सेवा समितिले एउटै सटरबाट मासिक ३५ हजार असुलेको विषयमा छानबिन हुने बताए ।

उनले भने, “अचाक्ली भाडा लिइरहेको गुनासो आएको छ । जिल्ला प्रशासन कार्यालयमा भाडाको अडिट बुझाउने र कार्यविधि बनाएर मात्रै भाडादर निर्धारण हुन्छ । तर अहिलेसम्म भएको छैन । अब हामी छानबिन गर्छौं ।”

काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गामा धर्मशाला र गाईनन्दी संरक्षण गर्न प्रयोग गर्ने सर्त सम्झौता गरिएको हो तर मारवाडी सेवा समितिले जर्सी गाईपालन गरेर डामेर छाडिएका साँढेहरू धादिङ लगेर राखेको छ । अहिले २१७ वटा दुहुना गाई र बाच्छाबाच्छी धर्मशालामा छन् । अध्यक्ष गोयलले भने, “धादिङमा जग्गा किनेर साँढेहरूको संरक्षण गरिएको छ ।”

कोषका प्रवक्ता अधिकारीले स्थानीय जातका गाई पाल्ने परम्परा भए पनि सेवा समितिले जर्सी गाई पालेको बताए । उनले गाई र नन्दीलाई अव्यवस्थित तरिकाले थुनिएको बताए । उनले भने, “यो परम्पराविपरीत छ । सेवा समितिले यो विषयमा प्रस्टीकरण दिनुपर्छ ।”

सेवा समितिले सम्झौताको मापदण्डविपरीत ३० बेडको डायलासिस सेन्टर सञ्चालन गरेको छ । गाई पालिएको भवन र डायलासिस सेन्टरको भवन जोडिएका छन् । अध्यक्ष गोयलले सेवा गर्ने उद्देश्यले सेन्टर चलाइएको बताए । उनले “मापदण्डको कुरा होइन सेवा गरेको कामलाई हेर्नुस्,” भने ।

प्रवक्ता अधिकारीले डायलासिस सेन्टरका लागि उपयुक्त जग्गा खोज्न सुझाव दिँदै धर्मशाला जुन प्रयोजनका लागि बनाइएको हो त्यो मात्रै गर्नुपर्ने बताए । उनले भने, “पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु र गाई–नन्दीका लागि बनाइएको गौशालामा अनेक व्यवसाय सञ्चालन गर्न मिल्दैन । त्यस्तो अवस्थामा सम्झौता रद्द हुन्छ ।” गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.