सूचनाप्रविधिसँग जाेड्न सके पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने

रिपोर्ट नेपाल | 2019 Jul 02 | 07:30 am 2110

काठमाडौं, असार १७:  सूचनाप्रविधि क्षेत्रमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन सक्ने देखिएको छ। नेपालका हरेक क्षेत्रलाई सूचना प्रविधिसँग जोड्न सके आउँदो पाँच वर्षभित्र ५ लाखभन्दा बढीलाई रोजगारी दिन सकिने भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीका अनुसार सरकारका हरेक संरचनालाई अटोमेसनमा लैजान सके सूचनाप्रविधि क्षेत्रमा पर्याप्तमात्रामा रोजगारी सिर्जना हुन सक्ने बताए। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाख युवालाई रोजगारी दिने घोषणा गरेको छ। त्यसको आधाभन्दा बढी युवालाई सूचनाप्रविधि क्षेत्रमै समेट्न सकिने सम्भावना रहेको अलीको भनाइ छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचनाप्रविधि क्षेत्रमा बढीभन्दा बढी युवालाई समेट्ने गरी गृहकार्य गरेको छ। मन्त्रालयले एक कार्यदल गठन गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारीको अवस्था र सम्भावनाबारे अध्ययन गरेको थियो। सूचनाप्रविधि क्षेत्रमा रोजगारीका अवसरबारे अध्ययन गर्न गठित कार्यदलले विस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनअनुसार हाल ६३ हजार जनशक्ति सूचना प्रविधिको क्षेत्रमा छ। सूचनाप्रविधि क्षेत्रमा केही सुधार गर्न सके तत्काल थप ८५ हजार रोजगारी सिर्जना हुन सक्ने कार्यदलले प्रारम्भिक अध्ययन गरेको थियो।

प्रधानमन्त्रीका आईटी विज्ञ अलीका अनुसार सूचनाप्रविधि क्षेत्रमा पाँच लाख रोजगारी सिर्जना गर्न सक्ने विषय ठूलो नभएको बताए। ‘सूचनाप्रविधि क्षेत्रमा असीमित अवसर छ’, उनले भने, ‘दक्ष बनाउँदै सबैलाई सूचनाप्रविधिमा एड्जस्ट गर्न सकिन्छ।’

श्रम मन्त्रालयका अनुसार स्थानीय कम्पनी, सेवाप्रदायक कम्पनी र ती दुवै खाले काम समावेश भएका कम्पनीसमेत गरी एक हजारभन्दा बढी दर्तावाला कम्पनी छन्। वेभ इनाबेल्ड सर्भिस, सफ्टवेयर डेभलपमेन्ट, व्यवस्थापन सूचना प्रणाली, डाटा प्रशोधन, कल सेन्टर, एनिमेसन प्रोसेसिङलगायत क्षेत्रमा ६३ हजारभन्दा बढीले रोजगारी पाएका हुन्। सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदले दक्ष जनशक्ति पाउन गाह्रो भएको बताए।

हरेक वर्ष ५ हजारदेखि १० हजार युवा सूचनाप्रविधि बजारमा आउँछन्। त्यसको ८० प्रतिशतले रोजगारी पाउँछन्। देशभरका १० विश्वविद्यालयमध्ये ६ विश्वविद्यालयले सूचनाप्रविधिमा अध्यापन गराउँछन्। काठमाडौं विश्वविद्यालयका प्रध्यापक मनिष पोखरेलले सरकारले श्रम सम्झौैता गर्दा स्वदेशमै आईटी कारखाना खोल्न अनुरोध गर्नुपर्ने बताए। ‘यसो हुन सके सूचना प्रविधिमा रोजगारी बढ्छ’, उनले भने। डिजिटल सीप विकास कार्यक्रम प्रवद्र्धन गर्न सके सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढ्ने उनको भनाइ छ।

श्रम मन्त्रालयका सहसचिव एवं कार्यदलका संयोजक प्रकाश दाहालले सूचनाप्रविधि क्षेत्रमा आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना गर्न सकिने सम्भावना देखिएको बताए। नीतिगत तथा संस्थागत सुधार गरी सूचनाप्रविधि क्षेत्रमा रोजगारी बढाउन सकिने उनको भनाइ छ। अन्नपूर्ण पाेष्टमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.