सुर्खेत, असोज २९: सुर्खेतको भेरीगंगा नगरपालिकामा पानीपुरी खाँदा ४३ जना बिरामी परेका छन् । बिरामी परेकामध्ये १० जनाको उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।
भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ साँधीखोला भन्ने स्थानमा शनिवार पानीपुरी खाएका ४३ जना बिरामी परेका थिए । शनिवार मध्यान्ह पानीपुरी खाएका उनीहरु आइतबार बिहानबाट मात्रै बिरामी पर्न थालेका थिए ।
बिरामी परेकाहरुलाई ज्वरो आउने, टाउको तथा ढाड दुख्ने, बान्ता हुने र पखाला लागेको थियो । आइतबार बिहानबाट गाउँका मानिसहरु बिरामी पर्न थालेपछि उपचारका लागि तत्कालै जिल्ला सदरमुकाम पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका इञ्चार्ज मधुसुदन न्यौपानेले बताए।
घटनास्थल जिल्ला सदरमुकामदेखि २५ किलोमिटर टाढा भएकाले उनीहरुलाई प्रहरीले समन्वय गरेर तत्काल उपचारका लागि पठाइएको थियो । पानीपुरी खाएर बिरामी परेका ४३ जनामध्ये ३३ जना उपचारपश्चात् घर फर्किएका छन् भने बाँकी १० जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
सुर्खेत प्रहरी प्रमुख एसपी बसन्त रजौरेका अनुसार बिरामी परेका सबैले पानीपुरी खाएका थिए । त्यसलगत्तै पानीपुरी बेच्ने स्थानीय जयराम खड्कालाई नियन्त्रणमा लिइएको छ । खड्कासँगै निजले प्रयोग गरेको गोलगप्पा, पानी र इमली पाउडर तथा मसलासमेत बरामद गरिएको छ।
बरामद सामानहरुको ल्याब परीक्षणका लागि प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।