सुरक्षा निकायका प्रमुखहरू चढेको जीप रुकुमपूर्वकाे तक्सेरामा दुर्घटना

| 2022 Aug 13 | 02:10 pm 1821

काठमाडौं, साउन २८: रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका तक्सेरामा जिल्ला सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना भएको छ। दुर्घटनामा  नेपाल प्रहरीका रुकुमपूर्व प्रमुख नायव उपरीक्षक प्रकाश डागीसहित चार जना घाइते भएका छन्। गम्भीर घाइते भएका प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर पठाउन गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा पुग्दै छ ।  रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा प्रहरीका डिएसपी डागीलाई टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी लक्षमण बुढा गम्भीर घाइते भएका छन्।

साथै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायव उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइते भएका छन्। जीपमा दुई प्रहरीका जिल्ला प्रमुखसहित ६ सुरक्षाकर्मी सवार थिए। गृहमन्त्री खाणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिएका थिए। जिल्लाको स्रोत साधनले घाइतेलाई अस्पतालसम्म पुर्‍याउन नसकिने भए मन्त्रालयमा बेलैमा खबर गर्न पनि गृहमन्त्रीले निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.