सुन तस्करी प्रकरणलाई लिएर मन्त्रिपरिषद् बैठक बस्दै

| 2024 Mar 15 | 01:57 pm 753

काठमाण्डौ ०२ चैत / आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ ।

इलेक्ट्रोनिक चुरोट (भेप) मा राखेर सुन तस्करी गरेको प्रकरणमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ।

६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

एआइजी बज्राचार्यलाई विभागीय कारबाही गर्न सुझाइएको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका थिए।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदनले औंल्याएका विषयमा कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए।

लगत्तै गृहमन्त्री लामिछानेले गृहसचिव र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई मन्त्रालयमा बैठक बोलाएर एआइजी बज्राचार्यमाथि विभागीय कारबाही गर्न निर्देशन दिएका हुन्।

६० किलो सुन प्रकरणको अनुसन्धान गर्दा मुख्य अभियुक्त भगाएको, आरोपीहरूले दिएको बयानको कागज च्यातेको लगायतका कमजोरी सिआइबीबाट भएको प्रतिवेदनमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.