काठमाडाैं, साउन २२ । गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट समाएको एक सय किलाे सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरोका (सिआइवी) का प्रहरी उपरीक्षक संजयसिंह थापाले गर्ने भएका छन् ।
राजस्व अनुसन्धान विभागले आइतवार नेपाल प्रहरीलाई अनुसन्धानका लागि जिम्मा लगाएपछि प्रहरीले सिआइवीलाई अनुसन्धान गर्न जिम्मेवारी तोकेको हो । सुन तस्करी संगठित अन्तरदेशीय अपराध भएकाले त्यसको अनुसन्धान गर्ने जिम्मेवारी सिआइबीलाई दिइएको हो।
एक सय किलो सुन प्रकरणमा १८ जना पक्राउ परेका थिए भने एक जनालाई विरामीका कारण जिम्मा जमानीमा छोडिएकाेले राजस्व विभागले सिआइवीलाई १७ जना आरोपी जिम्मा लगाएको थियो । सबैभन्दा ठूलो मात्राको सुनको अनुसन्धानको जिम्मा पाएको सिआइवी र त्यसको कमाण्ड पाएका एसपी थापाले कसरी अघि बढाउने हुन त्यो भने हेर्न बाँकी छ ।
उक्त सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।