‘सुन तस्करीलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री’

| 2023 Aug 14 | 07:04 am 1745

काठमाडौँ, साउन २९। सरकारले गत बिहीबार पक्राउ गरेर जिल्ला अदालत काठमाडौंको आदेशमा छाडिएका कांग्रेस सांसद सुनील शर्मालाई सुन तस्करीको विषयमा बोलेकै कारण सरकारले पूर्वाग्रही भएर गिरफ्तार गरेको शीर्ष नेताहरूको आरोप छ । सरकार साझेदार दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सांसद सुनील शर्मालाई सरकारले जाली मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउनुभएको हो ।

सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले सदनबाट सुन तस्करीमा संलग्नलाई कारबाही गर्नुपर्छ भन्ने सांसदलाई छापामार शैलीमा सभामुखलाई समेत जानकारी नै नगराई पक्राउ गरेर सुन तस्करीको विषयलाई छायामा पार्ने खेलमा प्रधानमन्त्री र गृहमन्त्री लागेको आरोप पनि लगाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कांग्रेस सांसद शर्माको पक्षमा बोल्दै भन्नुभयो– ‘सुनील शर्माको सर्टिफिकेटको बारेमा मलाई थाहा छैन । म त्यसको जाँचकी पनि होइन, एमालेले छानबिन नगर भनेको होइन । तर, २५ वर्षअघिको कुरा लिएर एउटा कार्यकर्तालाई उजुरी हाल्न लगाएर जननिर्वाचित सांसदलाई सभामुखको बिनाजानकारी गिरफ्तार गर्ने विषयलाई एमालेले गम्भीर रूपमा लिएको छ । यतिबेला छानबिन गर्ने विषय यो होइन ।’

सांसद शर्मालाई अदालतले थुनामा राख्नुपर्दैन भनिसकेपछि अहिले उहाँ निर्दोष भएको जिकिर गर्दै ओलीले भन्नुभयो– ‘के सुनील शर्माजस्तो कयौं मेडिकल कलेजहरू चलाएर बसेको सांसद देश छाडेर भाग्ला त ? जाली मुद्दा लगाएर सांसद गिरफ्तार गर्नु गम्भीर प्रकृतिका घटनाहरूलाई ढाकछोप गर्नु हो ।’

‘छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ’

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा पार्टीले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारसँग कुरा उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

सरकार छानबिन समितिको लागि तयार नभए समर्थन फिर्ता लिन समेत पार्टी नेतृत्वलाई सुझाव दिँदै पौडेलले भन्नुभयो– ‘प्रधानमन्त्री र गृहमन्त्री छानबिन समिति गठन गर्न तयार हुनुहुन्न । यो देख्दा उच्च तहसम्म संलग्नता भएको देखिन्छ । अब छानबिन समितिको प्रस्ताव कांग्रेसले नै गर्नुपर्छ । यदि, उहाँहरू तयार नभए प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ ।’

पौडेलले कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेर प्रधानमन्त्री र गृहमन्त्रीले प्रतिशोध साँधेको भन्दै आलोचना पनि गर्नुभयो ।

दलको बैठकमा सांसद शर्माले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट पछाडि नहट्ने बताउनुभयो । आइतबार बिहान बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेस र एमालेको सरकार बनाउन पहल थाल्ने बताउनुभएको थियो ।

(नेपाल समाचारपत्रबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.