मोरङ, कात्तिक २९ः रंगेली नगरपालिका-४ स्थित सडक छेउबाट सुनको जस्तो देखिने न्याक्लेस १ थान र नथिया १ थान गरी अन्दाजी १ तोला ४ आना ४ लाल र चाँदीको जस्तो देखिने बाला १ जोर, औंठी सहितको पन्जा १ जोर, पाँउजु १ जोर र सिक्री १ थान गरी करिब ३१ तोला सहित तीन जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत अररिया कौवाकोह-४ बस्ने २८ वर्षीय कुमार यादव, भारत अररिया कौवाकोह-३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् ।
उक्त सडक छेउमा भारतबाट नेपालतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको ३ जना सवार मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिले प्लाष्टिकको झोला सोही स्थानमा फाली फरार भएकोमा झोला तलासी गर्दा उक्त परिमाणको सुन तथा चाँदीको जस्तो देखिने गरगहना फेला पारेको थियो । मोटरसाइकल सहित फरार भएका व्यक्तिहरूको खोजी गर्ने क्रममा रंगेली नगरपालिका-४ चोप्राह बोडर छेउबाट बिआर ३८ जेड १८८० नम्बरको मोटरसाइकल सहित घटनामा संलग्न उनीहरूलाई फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
ललितपुर, १० वर्षीया र ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावारी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले दुवै जना बालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरी प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।