काठमाडौं, मंसिर ३ः काठमाडाैं जिल्लाको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा घर भई सोही नगरपालिका ३ टोखा बस्ने ५० बर्षीया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ बर्षीय अम्बिर राई रहेका छन् । उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।
लागूऔषधसहित तीन जना पक्राउ
सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ३ ठाटीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित सोही जिल्लाको लाहान नगरपालिका २० हरिनगर बस्ने राम नारायण साहलाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश अभयनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईजेपाम इन्जेक्सन ७८ वटा, हाईड्रोक्लोराईड ७८ वटा र बुप्रेनोर्फिन ७७ वटा फेला पारेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको सशस्त्र प्रहरीले झापा जिल्लाको भद्रपुर नगरपालिका ५ मेचीपुलबाट ४० वटा निट्रोजेन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको विर्तामोड नगरपालिका २ बस्ने १८
वर्षीया गंगा राजवंशी र १८ वर्षीय धिरज राजवंशी रहेका छन् । उनीहरुलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा
उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको लत्ताकपडा बरामद
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका ९ छाता पिपराचोकस्थित बीरगंज–पथलैया सडक खण्डबाट सशस्त्र प्रहरीले करीव २ लाख ५८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको यात्रुवाहक बसमा भन्सार छली अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ५९ हजार
रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ठेला गाडामा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा
सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० आदर्शनगरबाट बरामद गरेको हो । बरामद लत्ताकपडा तथा गाडा भन्सार कार्यालय बीरगंजमा बुझाईएको ।