सुनौलो हजार दिनका १ सय ८० महिलालाई अण्डा वितरण

रिपोर्ट नेपाल | 2019 Mar 17 | 06:55 am 2373

स्याङजा, चैत ३ : मातृशिशुको स्वास्थ्यलाई मध्यनजर गरी वालिङ नगरपालिका–१ ले वडाभित्रका सुनौलो हजार दिनका १ सय ८० महिलालाई शनिबार अण्डा वितरण गरेको छ । वडा कार्यालयको आयोजना र दियालो गैरसरकारी संस्थाको सहकार्यमा वडाभित्र रहेका सुनौलो हजार दिनका महिलालाई एक÷एक क्यारेट अण्डा वितरण गर्नुका साथै क्षमता अभिवृद्धि र पोषणसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ ।

नगर प्रवक्ता केदार काफ्लेले महिला लक्षित कार्यक्रमअन्तर्गत वडाबाट विनियोजित ५० हजार रकमले कार्यक्रम सञ्चालन गरिएको र यसलाई अर्ध वार्षिकरूपमा सञ्चालन गर्दै लैजाने बताए ।

सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यलाई ध्यानमा राख्दै वडा नम्बर–१ लेअण्डा वितरण गर्ने कार्य प्रशंसनीय रहेको वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए । आमा र बच्चाको स्वास्थ्यप्रति सजग रहँदै बजारमा प्याक गरिएका आहारभन्दा घरमै उत्पादन हुने पौष्टिक तत्वको अधिकतम प्रयोग गर्न पनि आग्रह गरे ।

बच्चा आमाको गर्भमा रहेको दिनदेखि एक हजार दिन अर्थात जन्मिएको दुई वर्षसम्ममा बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले सुनौलो हजार दिनअन्तर्गत खास गरेर बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले अण्डा वितरण कार्यक्रम सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।

वडा नम्बर–१ मा जस्तै कार्यक्रम वालिङका १४ वटै वडामा सञ्चालन गर्दै समग्रमा नगरपालिकालाई नै सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पुर्याउने गरी योजना बनाउनुपर्नेमा नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.