सुनसरी प्रहरीद्वारा एकैदिनमा ८३ जना फरार अभियुक्त पक्राउ

| 2021 Aug 26 | 01:47 pm 2309

  • अजमल अन्सारी

सुनसरी, भदौ १०ः जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा फैसला भई कैद वा जरिवाना तोकिएपनि फर्छ्यौट नगरी फरार रहेका ८३ जनालाई एकै दिन जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार एकैदिन कैद तथा जरिवना तोकिएका ८३ जना फरारहरुलाई पक्राउ गरिएको हो ।

अदालतले गरेको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरु एकैदिन पक्राउ परेका हुन् । सुनसरी प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई अदालतमा पेश गरिएको बताइएको छ ।

चालु आर्थिक बर्षमा बुधबार पक्राउ परेका ८३ जनासहित कुल ३ सय ८३ जना फरारहरु पक्राउ परेका छन् । उनीहरुको अदालतको अभिलेख अनुसार ८० बर्ष २ महिना २३ दिन कैद सजाय फर्छ्यौट भएको छ भने १४ लाख ८९ हजार ५०० जरिवना पनि असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सन्जयसिंह थापाले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा गर्भपतन, मानव वेचबिखन, सवारी ज्यान, लागूऔषध, जर्बजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्ध विच्छेद, भ्रष्टचार, गालीबेइज्जती लगायतका मुद्दाका रहेका छन् ।

यस अघिपनि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक महिने फरारी अभियानमा विषेश सुराकीको अधारमा २ सय ३८ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.