काठमाडौँ, मंसिर १७।यस साता सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड कायम भएको छ । रुस-युक्रेन तथा इजरायल-हमासबीचको द्वन्द्वको प्रभावका कारण लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा चाप परेको बताइएको छ ।
नेपाली बजारमा पनि यस साता सुनको मूल्यमा तीन पटकसम्म नयाँ उचाइसहितको रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रति १० ग्राम एक लाख दुई सय २५ रुपैयाँ रहेको सुन साताको चौथो दिन बुधबार एक लाख दुई हजार दुई सय ८० रुपैयाँ पुगेर शुक्रबार पुनः एक लाख दुई हजार २५ कायम भएको थियो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम एक हजार आठ सय रुपैयाँले बढी होे ।
त्यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन एक हजार दुई सय ७३ रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम कारोबार दिन शुक्रबार एक हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
(हिमालय टाइम्सबाट)