काठमाडौँ, २१ कार्तिक / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ ।आजका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँ कायम गरेको छ।
यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो जुन अहिलेसम्मै महँगो थियो ।
यस्तै चाँदीको मूल्यमा प्रतितोला ६० रुपैयाँले घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य २ हजार ३० रुपैयाँ तोकेको छ । यसअघि तिहारको बिदाअघि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।