सुख्खा पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध

| 2022 Dec 04 | 02:34 pm 1321

कालिकाेट, मंसिर १८ः कर्णाली करिडोर अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिकाको लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

शनिवारदेखि सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको पलाँताका स्थानीय मानबहादुर भन्डारीले बताए।

‘कर्णाली करिडोर अवरुद्ध भएको त दुई दिन भयो’, उनले भने, ‘वर्षातका कारणले धेरै ठाउँमा पहिरो गएको थियो, यो पटक करिडोरको लाफामा सुख्खा पहिरो जाँदा करिडोर ठुलो क्षति गरेको छ। बाजुरा,मुगु लगायत स्थानीय सयौं यात्रुहरू र बिरामीहरू अलपत्र परेका छन्।’

कर्णाली करिडोरको लालीघाटदेखि हुम्लाको सलिसल्लासम्म यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन चल्ने गरेको भए पनि अहिले सुख्खा पहिराको कारणले यातायातका साधन चल्न सकेका छैनन्। पहिरो पन्छाउन अझै केही हप्ता लाग्ने स्थानीयले बताएका छन्। करिडोरमा सवारी साधन नचल्दा खाद्यान्न तथा अत्यावश्यक बस्तुको ढुवानी रोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.