सीमापारीबाट लागुऔषध सस्तोमा ल्याएर महँगोमा बिक्री

रिपोर्ट नेपाल | 2018 Jun 20 | 12:11 pm 4071

रौतहट, असार ६: लागूऔषध कारोबारीले भारतबाट १ सय ५० रुपैयाँ तिरेर कोरेक्स, फेन्साडिल जस्ता प्रतिबन्धित औषधि ल्याउने गरेको तथ्य सार्वजनिक भएको छ। लागूऔषध सेवनकर्ताले सीमापारीबाट सस्तोमा ल्याएर नेपाली सीमा क्षेत्रमा सस्तोमा बिक्रि गर्ने गरेका छन् ।

कुलतमा फसेका युवाहरू युवाहरू सक्रिय यस्तो धन्दामा पारिबाट ल्याइएर १ बोतलको ५ सय रुपैयाँसम्म बिक्री गर्छन्। भारतमा खुलेआम बिक्री हुने हुँदा नेपाली युवाहरू पारिकै बजारबाट ल्याउने गर्छन्।

चन्द्रनिगाहपुर, गरडा र बागमती बजारमा यसको कारोबार फस्टाउँदै गएको छ। ‘भारतीय बजारबाट प्रतिबन्धित सामान ओसारपसार गर्नेहरूको सञ्जाल भत्काउने प्रयासमा छौँ,’ जिल्ला प्रहरी प्रमुख एसपी रबिन्द्र केसी भने, ‘लागूऔषध कारोबारी र सेवनकर्ता खोजी/खोजी पक्रेर कारबाही गर्छौं।’

भारतीय भूमिलाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका केहीलाई जिल्ला प्रहरीले लागूऔषध सहितपक्राउ गरेपछि यो खुलासा भएको हो।

बैरगनिया बजारबाट लागूऔषध सेवन र ओसारपसार गर्न लाग्दा गौर नगरापालिका २ बाट दुई साताअघि स्थानीय बिवेक मैनाली र सनोज रायमाझी पक्राउ परे। प्रहरीले उनीहरूका साथबाट विभिन्न प्रकारका लागूऔषध बरामद गर्‍यो।

बैरगनिया बजारमा दिनहुँ नेपाली युवाहरू लागूऔषध खरिद र सेवन गर्न जान्छन्। फर्किंदा उनीहरू पक्राउ पर्छन्। पछिल्लो १० वर्षदेखि यही क्रम चल्दै आएको छ । यो बजारमा राजधानीदेखिका युवा लागूऔषध खरिद गर्न आउँछन्।

‘हामीले सीमापारि जाने युवामाथि कडा निगरानी बढाएका छौं,’ उनले भने, ‘भारतीय भूमि ट्रान्जिट प्वाइन्ट बन्दै गएको भन्ने सुनेको छु । यसलाई कुनै पनि हालतमा भत्काउँछु।’ जिल्ला प्रहरीले ३ साताभित्र ५ जनालाई लागूऔषध सहित पक्राउ गरेको जनायो। प्रहरीले यमुनामाई नगरपालिका ५ स्थित अजयसाह सोनारको साथबाट गएको जेठ १ गते डाइजेल्याब, नुर्फिन, एभिल इन्जेक्सन र फेरागन जस्ता प्रतिबन्धित औषधि बरामद गरेको थियो।

त्यस्तै चन्द्रपुर नगरपालिका ६ स्थित रमेशकुमार यादव र विष्णु पटेलको साथबाट विभिन्न लागूऔषध बरामद गरिएको जिल्ला प्रहरीले जनायो। उनीहरूविरुद्ध लागूऔषधको मुद्दा दायर गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.