सीता एयरको टरिगाउँ विमानस्थलमा परीक्षण उडान सफल

रिपोर्ट नेपाल | 2023 Jan 27 | 04:29 pm 1093

दाङ, माघ १३ः सीता एयरले तुलसीपुरमा रहेको टरिगाउँ विमानस्थलमा परीक्षण उडान गरेको छ। दिउँसो धावनमार्गमा उडान परीक्षण गरिएको हो। उडानपछि प्रतिक्रिया दिँदै विमानचालक रविन्द्र डङ्गोलले धावनमार्गको लम्बाइ थप गर्न सके पूर्णरुपमा यात्रु राखेर सञ्चालन गर्न सकिने बताए।

उनले धावनमार्गको उत्तरतर्फबाट विमान ल्याण्ड गर्नका लागि केही घरमा राखिएका पानी ट्याङ्की हटाउन सके सहज हुने बताए। उनले धावनमार्गमा चराचुरुङ्गी गतिविधि बढी देखिएकाले गतिविधि न्यूनीकरणमा ध्यान दिनुपर्ने बताए। उनले धावनमार्गको लम्बाइ दुई सय मिटर बढाउन सके उडानमा सहज हुने बताए।

सीता एयरका प्रबन्धक राजेन्द्रबहादुर सिहंले विमान चालकको रिपोर्टपछि एक हप्ताभित्रै सेवा नियमित गरिने बताए। उनले हप्तामा एक दिन र यात्रुको चापको अवस्था हेरेर सेवा बढाउँदै लैजाने बताए।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले उडानका क्रममा देखिएका समस्या समाधानमा तत्कालै प्रक्रिया अघि बढाउने बताए। उनले धावनमार्ग बढाउने र विमास्थल वरपर रहेका रुख हटाइने बताए। उनले सेवा निरन्तरताका लागि जुनसुकै सहयोग गर्ने बताए।

२०११ सालमा सञ्चालनमा आएको विमानस्थलमा सात सय ५० मिटर कालोपत्रे छ। हाल   नेपाल वायुसेवा निगमको १९ सिट क्षमताको ट्विनअटरले साताको चार दिन आइतबार, मङ्गलबार, बिहीबार र शनिबार तुलसीपुर उडान गर्दै आएको छ।

निजी विमान सञ्चालनमा आएपछि उडान सङ्ख्या बढ्ने र  भाडा घट्ने अपेक्षा गरिएको छ। करिब दश करोडको लागतमा टरिगाउँमा इन्धन डिपो स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । तर भाडा भने अहिलेसम्म घटेको छैन। अहिले दाङदेखि काठमाडौंको न्यूनतम भाडा आठ हजार आठ सय १० रुपियाँ र काठमाडौंबाट दाङको न्यूनतम नौ हजार रुपियाँ र अधिकतम १२ हजार रुपियाँभन्दा बढी भाडा तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.