सिसि टिभी जडानका लागि महानगर र प्रहरी विच समझदारी

| 2023 Nov 22 | 03:27 pm 837

काठमाडौं मंसिर ६।  उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान गर्ने सम्बन्धी समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी र महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले उक्त समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान गरेका छन् ।

काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई एक करोड १ लाख २३ हजार रूपैयाँ उपलब्ध गराउने सम्झौता–पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.