सिरहा, माघ १६ः सिरहा प्रहरीले ३० ग्राम पाँच सय मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित नवराजपुर र गोलबजारबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– २ मझौरा टोलस्थित घरबाट प्रहरीले ब्राउनसुगर, तौल गर्ने डिजिटल मेसिन, मोटरसाइकलसहित नौजना युवकलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार स्थानीय २३ वर्षीय ओमप्रकाश यादवले आफ्नै घरबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा १४ माघमा पक्राउ गरिएका सिराहाका सात र सप्तरीका दुई गरी नौजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा नवराजपुर गाउँपालिका– २ मझौरा टोलका ओमप्रकाशसहित उनका साथीहरू स्थानीय २२ वर्षीय अमितकुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका– १२ बस्ने ५१ वर्षीय मदनकुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी, लहान– ५ का २७ वर्षीय इरफान हुसेन, लहान– १ का १९ वर्षीय कृष्णा पासमान रहेको सिराहा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाषस बुढाथोकीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बुढाथोकीका अनुसार प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका– १२ अर्नाहा घर भएका २३ वर्षीय रमेश पासमान र २२ वर्षीय सुरेशकुमार पासमानलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेकाहरू र घरको खानतलासी गर्ने क्रममा प्रहरीले ब्राउनसुगर जस्तो देखिने सेतो पदार्थ २८ ग्राम, एक थान लागुऔषध तौल गर्ने डिजिटल मेसिन, आठ थान मोबाइल, चार थान मोटरसाइकल र चार हजार आठ सय ८५ रुपैयाँ बरामद भएको उनले बताए ।
पक्राउ परेकाहरूलाई आइतबार नै लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि सात दिनको म्याद लिइएको र इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, गोलबजार प्रहरीले चेकजाँचको क्रममा गोलबजार– ६ स्थित मुख्य चोकबाट गोलबजार नगरपालिका– १२ घर भएका २७ वर्षीय युवकलाई दुई ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरेको छ ।
गोलबजार नगरपालिका– १२ बेतौनाका सुमितकुमार सिंहलाई प्रहरी निरीक्षक राजु केसीको कमान्डमा रहेको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा कालो र सेतो गरी तीन वटा प्लास्टिकको पोकामा प्याक गरिएको दुई ग्राम पाँच सय मिलिग्राम पदार्थ, एक थान मोवाइल र एक हजार दरको दुईवटा नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सिंहविरुद्ध लागुऔषध मुद्दामा आइतबार सात दिनको म्याद लिई गोलबजार प्रहरीमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक केसीले बताए ।