सिन्धुली, असार २४ः बुधबार जिल्लाको फिक्कल गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुदाँ १ जनको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिका–५ सोल्पाका धर्मध्वज सुनुवार रहेका छन् ।
ना४च ५२८५ नम्बरको बोलेरो सिन्धुलीको खाङसाङबाट सोल्पा जाने क्रममा दुर्घटनामा हुदाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सुनुवारलाई उपचारको लागि खुर्कोट लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा फिक्कल गाउँपालिका–५ का ४९ वर्षीय चालक टोकनाथ पहाडी, ४३ वर्षीया भगवती पहाडी र १७ वर्षीय उज्वल सुनुवार घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ । मृतक सुनुवारको शव पोष्टमार्टमका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा राखिएको छ ।