काठमाडाैं, माघ ७ः नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुपाल्चोक जिल्ला, चौतारा सांगाचोकगढी
नगरपालिका-१४ को झ्याडी एकिकृत नमुना माझी बस्ती र ईन्द्रावती गाउँपालिका-११ को एकिकृत माझी वस्तीका
स्थानीय बासिन्दाहरुलाई लक्षित गरी हिजाे मंगलबार चौतारा सांगाचोकगढी नपा.-१४ स्थित श्री झमलादेवी आधारभुत विद्यालयको परिसरमा श्री सैनिक श्रीमति संघ (नेपाली सेना) ले राहत सामाग्री बितरण एवं श्री नं. २६ बाहिनी अड्डा तथा श्री गोरख बक्स गणको पहलतामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरीएको छ ।

उक्त कार्यक्रममा श्री सैनिक श्रीमती संघले १२८ घरपरिवारहरुलाईमण्डी र प्रेशर कुकर गोटा १/१ वितरण तथा श्री झमलादेवी आधारभुत विद्यालयका प्रधानाध्यापकलाई अफिस टेबल-२ वटा र कुर्सी-१० वटा हस्तान्तरण साथै श्री गोरखबक्स गणको तर्फबाट विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।
श्री नं. २६ फि.ए. गुल्म, श्री नं.१ फि.ए. गुल्मले जिल्ला जनस्वास्थ्य कार्यालय र चौतारा अस्पताल सिन्धुपाल्चोक सहितको सहयोगमा संचालन गरेको स्वास्थ्य शिविरबाट २५० जना स्थानीय बासिन्दाहरु लाभान्वित भएका थिए ।

उक्त कार्यक्रममा चौतारा सांगाचोकगढी नपाका नगर प्रमुख, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री नं. २६ बाहिनी अड्डाका बाहिनीपति लगायत अन्य सैनिक अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख, वडा प्रतिनिधिहरु, श्री सैनिक श्रीमती संघको तर्फबाट श्रीमती रोजीना राउत, श्री श्वेताश्री फाउण्डेशनका अध्यक्ष श्रीमती श्वेता खड्का सहितका अन्य पदाधिकारीहरु, श्री ओरेक नेपालका प्रतिनिधि एवं पत्रकारहरुको उपस्थिती रहेको थियो ।
