मोरङ, पुस १० : आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका विवादास्पद धार्मिक कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ ले सम्बन्धित महिलालाई मुद्दा फिर्ता लिन दवाव दिएको अडियो फेला परेको छ ।
काठमाडौंकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दवाव दिएको अडियो उनकै भएको पनि पुष्टि भएको छ ।
रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् ।
प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो । अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए ।
हिरासतको समय विराट नर्सिङ होममा कटाएका गिरीले आफूमाथि फसाउने षडयन्त्र भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको रिपोर्ट आएको हो ।
‘आवाज म्याच भएको रिपोर्ट आएको छ’, प्रहरी स्रोतले भन्यो, ‘सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । सिद्धबाबाको हकमा भने ७७ प्रतिशत आवाज म्याच भएको छ ।’
प्रहरीले मुद्दा अनुसन्धानपछि आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको छ । सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ ।
जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए ।