काठमाडौँ, २३ जेठ : सिंहदरबारभित्र नेकपा संसदीय दलको कार्यालयका नयाँ भवन खोजी सुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै सांसद संख्या बढेकाले नयाँ भवन खोजिएको हो ।
संसद् सचिवालयले भवन उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको छ । सांसद संख्या बढेको हुनाले अहिलेको संसदीय भवन सानो भएपछि कार्यालयका लागि नयाँ स्थान खोजी भइरहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । संसद् सचिवालयले भवन उपलब्ध गराउन सहरी विकास मन्त्रालयलाई पत्राचार गरेको छ ।
नेकपामा अहिले १ सय ७४ सांसद छन् । अहिले रहेको एमाले वा माओवादीको संसदीय दल कार्यालयमा उक्त संख्यामा सांसदको बैठक गर्नसमेत समस्या देखिएको छ । संसदीय दलको कार्यालयमा स्थान अभाव भएपछि संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा बस्ने गरेको छ ।
०४८ सालयता एमाले संसदीय दलको कार्यालय संसद् सचिवालयसँगै पश्चिमपट्टिको पुरानो टिनको छाना भएको घरमा छ भने माओवादी केन्द्रको संसदीय दल सचिवालयकै लागि बनाइएको घरमा छ । ०६४ सालको संविधानसभा निर्वाचनपछि माओवादीसहित अन्य केही दलको संसदीय दल कार्यालय सचिवालयको उक्त भवनमा राखिएको थियो ।