सिँचाइ अभावले खेत बाँझो

रिपोर्ट नेपाल | 2023 Jan 23 | 07:49 am 129

कावासोती, माघ ९ः पूर्वीनवलपरासीमा कृषि उत्पादनका लागि उर्वर भूमि सिँचाइको अभावले बाँझो रहने समस्या बढेको छ। पर्याप्त सिँचाइ नहुँदा लक्ष्यअनुसारको उत्पादन पनि हुन सकेको छैन।

गैँडाकोट नगरपालिका वडा नं.–३ अन्नबाली उत्पादनमा किसान तल्लीन भए पनि सिँचाइको पहुँच नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै छन्। नवलपुर गैँडाकोटको हर्दी र केलादीका किसानले सिँचाइको अभावमा खेतीबाली लगाउन पाएका छैनन्।

वर्षायाममा खेतीबालीका लागि आकाशको पानीको भर पर्दछन् भने हिउँदमा खेतबारी बाँझै राख्ने गरेका छन्। गैँडाकोट हर्दीको एक सय  बिघा र केलादीको ५० बिघा जमिन सिँचाइ अभावले बाँझो छ।

गैँडाकोटका अधिकांश युवा विदेशबाट फर्किएर कृषि पेसामा आबद्ध भएका छन् तर सिँचाइ नहुँदा चाहेर पनि खेती गर्न नसकेको स्थानीय कृषक हरिबहादुर मिश्रले बताए।

वैदेशिक रोजगारमा १५ वर्ष बिताएर स्वदेश फर्केका गैँडाकोट–३ निवासी मिश्रले कृषिमा राम्रो सम्भावना देखेर व्यावसायिक खेती सुरु गरे तर सोचेअनुसारको हुन सकेन।

उहाले भने, “सिँचाइ छैन, अप्ठ्यारो छ। सिँचाइ भए यो खेतीयोग्य जमिन बाँझो हुने थिएन, विदेशबाट केही गर्न यहाँ आए भने निराशा मात्रै छ।”

बर्खामा हुने अन्नले हिउँद टार्नुपर्ने बाध्यता छ। वर्षायाममा आकाशको भर पर्नुपर्ने हिउँदमा भने पूरै खेतीबारी बाँझै राख्नु पर्दा किसान चिन्तित छन्। १० रोपनी खेत भएर पनि मकै र कोदोबाहेकको अरू खेती गर्न नपाउँदा आफूहरू समस्यामा परेको अर्की स्थानीय कृषक सम्झना न्यौपानेको गुनासो छ।

६२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गैँडाकोटको हर्दी र केलादीमा सिँचाइ व्यवस्थाका लागि काम भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताने। सिँचाइको समस्या समाधानका लागि लिफ्टिङ, सतही र बोरिङका लागि वडा कार्यालयबाट गत वर्ष २५ लाख रुपियाँमा काम सुरु गरिएको छ।

अहिले हर्दी र केलादीमा सिँचाइको ८० प्रतिशत काम भएको जानकारी दिए। सिँचाइको पहुँच पु-याउन सामान्य बजेटले नभ्याउँदा पनि समस्या भएको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.