काठमाडौं: यस वर्षको “उत्तम शान्ति पुरस्कार” पूर्व शिक्षामन्त्री एवं साहित्यकार दीनानाथ शर्मालाई प्रदान गरिने भएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०४४ सालदेखि आख्यानमुक्त गद्य विधामा रचना गरिएका उत्कृष्ट नेपाली कृतिहरुलाई उत्तमशान्ति पुरस्कारद्धारा सममानित गर्दै आएको छ ।
राष्ट्रियसभाका सदस्य समेत रहेका शर्माको पछिल्लो कृति ‘बाह्रखरीको बोटमुनी’ साहित्यिक कृतिलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार गुठीका सचिव ठाकुरप्रसाद पराजुलीले जानकारी दिए । गुठीले समकालीन समय र सौन्दर्य चेतनालाई तीक्ष्ण निजात्मक अनुभूतिका निबन्धमार्फत नेपाली साहित्यमा उल्लेखनीय उपस्थिति जनाउँदै सशक्त कृति प्रदान गरेबापत शर्मालाई वर्ष २०७४ को उत्तमशान्ति पुरस्कार समर्पण गर्ने निर्णय गरेको जनाएको छ।
जेठ १२ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने पनि गुठीले जनाएको छ । शर्माका निबन्ध, कविता, कथा, संस्मरण तथा राजनीतिसम्बन्धी एक दर्जन भन्दा बढि कृतिहरु प्रकाशित भैसकेका छन् । शर्मा राजनीतिसँगै साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय रहदै आएका छन् ।