सालको अवैध काठसहित तीनजना सुर्खेत प्रहरीकाे नियन्त्रणमा

| 2020 Nov 24 | 02:57 pm 4041

सुर्खेत, मंसिर ९ः कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो टोली र इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले १७२ थान अवैध सालको काठसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश प्रहरीको ब्यूरो र इलाका प्रहरी कार्याफय छिन्चुबाट सोमबार खटिई गएको विशेष टोलीले भेरीगङ्गा नगरपालिका–१० सुर्खेतका ४१ वर्षीय अलबहादुर पुनमगर, सोही नगरपालिका–४ का ४६ वर्षीय उदिराम खत्री र ३८ वर्षीय खिमराज खत्रीलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले सुर्खेत ठूलाखालबाट छिन्चुतर्फ भे १ ह ३३४१ नंको अटोमा लाँदै गरेका अटोचालक पुनमगरबाट ८.५ क्युफिटको २३ थान सालको अवैध काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।

त्यस्तै, विशेष सूचनाका आधारमा भेरीगङ्गा नगरपालिका– ४ सुर्खेतका उदिराम खत्रीको घरको करेसाबारीमा लुकाइछिपाई राखेको अवस्थामा ११४.४७ क्युफिटको १३६ थान सालको अवैध काठ र सोही वडाका खिमराज खत्रीको घरमा लुकाइछिपाई राखेको अवस्थामा ७.११ क्युफिटको १३ पिस सालको अवैध काठ बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए ।

उनका अनुसार, बरामद गरिएको अवैध काठ र नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.