काठमाडौं, वैशाख २१ः योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपियाँसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन महिना योगदान गरेको हुनुपर्नेछ । कोषले यसअघि स्वास्थ्य उपचारका लागि गरेको व्यवस्थाअनुरूप कोषमा सूचीकृत भएका श्रमिकलाई उक्त सेवा पाउने व्यवस्था गरेको हो ।
कोषका अनुसार अस्पताल भर्ना भएर उपचार गर्न परेको खण्डमा एक वर्षमा एक लाख रुपियाँ पाउनेछन् भने कोरोना भएर घरमै उपचार गरेकाको हकमा भने २५ हजार रुपियाँसम्म उपचारबापत रकम दाबी गर्नसक्ने व्यवस्था छ ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले कोषको यसअघिका योजनामा पर्ने सबै सेवासुविधा कोषमा सूचीकृत भएका कोरोना सङ्क्रमितले पनि पाउने जानकारी दिए ।
सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा मृतकका आश्रित परिवारले सुविधा पाउने पनि उनले जानकारी दिए । योगदानकर्ताले बिरामी हुँदा औषधीपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने भन्दै कार्यकारी निर्देशक ज्ञवालीले भने, “मृत्यु भएमा आश्रित परिवार सुविधा योजनाअन्तर्गतको सुविधा आश्रित परिवारले पाउनुहुनेछ ।
कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । सङ्क्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइरहेका छन् । गाेरखापत्र दैनिकबाट