काठमाडौं, कात्तिक ९: आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा उम्मेदवार र राजनीति दलका नेताबारे सामाजिक सञ्जालबाट लाञ्छनापूर्ण अभिव्यक्ति दिइएको पाइए एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले केही सामाजिक सञ्जाल प्रयोगकर्तासमेतबाट फेसबुक पेज ग्रुपबाट निर्वाचनमा उम्मेदवार रहेका दलको नेताबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेताविरुद्ध भ्रामक सामग्री फैलाएको गम्भीर ध्यानाकर्षण भएको भन्दै ‘नो, नट अगेन’ लगायत फेसबुक पेजहरूलाई यस्तो चेतावनी दिएको हो ।यस्ता कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको आयोगले जनाएको छ ।
‘उल्लेखित कसुर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुटा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाइ उप्रान्त यस किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइन्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।