काठमाडौं, भदौ १२ः सामाजिक संजाल फेसबुकमा गुगलबाट महिलाको आकर्षक फोटो तानी महिलाको नामबाट फेसबुक आइडी खोली साथी बनाई उक्त आइडीबाट कुराकानी गरी लोभ, प्रलोभनमा पारी प्रपञ्च मिलाई माया जालमा पारी बिभिन्न अश्लिल फोटोको माध्यमबाट पिडितलाई रकम आइएमइ गर्न लगाउने र रकम नदिए आफन्तजन, साथीहरुलाई समेत फोटो पठाई बेईज्जत गरी दिन्छु भनी पटक–पटक ब्ल्याकमेलिङ गरी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला कैलाली मोहन्याल गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय धन बहादुर शाही रहेका छन् ।
उनलाई बिहीबार काठमाडौं महानगरपालिका वडा नम्बर ३२ कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।
शाहीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि आज शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको बताइएको छ ।