काठमाडौं, चैत्र २७ : नेपाल शिक्षक संघको संघीय प्रतिनीधि भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् ।
लोकतन्त्रलाई यो अवस्था सम्म ल्याउन शिक्षकहरुले ठूलो योगदान गरेका छन् । शिक्षालाई परिमार्जन गर्न जरुरी छ । नेपालमा अपार संभावना छन् । विश्वमा नभएका धेरै सुन्दर कुराहरु नेपालमा छन् । नेपाललाई प्रकृतिले दिएको छ । विश्वले प्रकृति जस्तै कृत्रिम चिज बनाएर बेचिरहेका छन् ।
हामीले अब विकासका लागि प्राविधीक शिक्षामा जोड दिनुपर्छ । प्राविधीक शिक्षामा जोड दिने हो भने यी सवै संभावनालाई उपयोग गर्न सक्छौ । हामीले सामुदायिक बिद्यालायमा प्राविधीक शिक्षा दिने र सामुदायिक बिद्यालयलाई आकर्षक बनाउन शिक्षकहरु पनि लाग्न जरुरी छ ।
कम्युनिष्ट सरकारले शिक्षामा वजेट घटाएका छन् । शिक्षामा वजेट घटाएर कसरी विकास हुन सक्छ । वर्षो पढाएका अस्थायी शिक्षक अलपत्र छन् । उनीहरुको समस्या समाधान गर्नुपर्छ । अस्थायी शिक्षकको समस्या सधैका लागि दिनेगरि शिक्षा बिद्येयक ल्याउनुपर्छ । कम्युनिष्ट सरकारले शिक्षा क्षेत्रमा जथाभावि गरेको छ । यसको विरुद्ध आवाज उठाउनुपर्छ ।
संविधानमा हामीले धेरै कुरा ल्याएका छौ । हाम्रा नेताहरुले देखेको सपना हामीले संविधानसभा मार्फत संविधान बनाएर पूरा गरेका छौ । यो संविधानमा नेपाली कांग्रेसको सिद्धान्तको जीत भएको छ । कांग्रेसको सिद्धान्तले जित्ने तर चुनावमा कांग्रेस हार्ने भयो । यो भनेको पार्टीको कार्ययोजना नहुनु र हामी नेताहरुको कमजोरीका कारणले हो ।
हामीले आफ्नो आचरणमा सुधार गर्न जरुरी छ । कांग्रेसका कार्यकर्ताले कुनै नेताको पछि लाग्न जरुरी छैन् । कुनै नेतालाई आँखा चिम्लेर सर्मथन गर्ने कार्यकर्ताले नेताहरुको मुल्याङकन नगर्ने हो भने कांग्रेस फेरि भड्खालोमा पर्छ । त्यसोभएकाले कांग्रेसका कार्यकर्ताहरु कांग्रेसको आचरणमा बस्नुपर्छ ।
हामीले वीपी कोइरालालाई हेरेर कांग्रेसको आचरण बनाउन जरुरी छ । वीपीले कहिल्यै सत्ता र शक्तिको पछि लाग्नुभएन । प्रजातान्त्रिक आचरणलाई आफुले व्यवहारमा उत्रार्नुभयो । अहिले हामीले त्यसो गरेका छौ कि छैनौ । अब कांग्रेसलाई धेरै अलमलमा राख्ने होइन ।
हामीले समयमा १४ औं महाधिवेशन गरेर कांग्रेसलाई सहि ट्रयागमा ल्याउनुपर्ने छ । आज गाँउदेखि सिंहदरवारसम्म सवै तिर कम्युनिष्टहरु छन् । त्यसको ससक्त प्रतिरोध गर्ने खालेको कांग्रेस आजको आवश्यकता हो । संवैधानिक परिषदले गर्ने नियुक्तिमा कांग्रेस अहिले किन मौन छ । यो कुराको खोजी हुनुपर्छ । संवैधानिक परिषद गठनको सिद्धान्त के हो । त्यसमा किन प्रतिपक्ष दलको नेतालाई सहभागि गराइयो ।
संवैधानिक आयोगहरु भनेको सरकारका अंग होइनन । यो भनेको सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने निकाय हो । धमाधम संवैधानिक आयोगमा नियुक्ति भएका छन् तर कांग्रेसको उपस्थिती छै्रन् । यहाँ गल्ती भएको छ ।
मैले सभापतिलाई गल्ती नगर्नुस भनेको छु । संवैधानिक आयोगमा सवै को हिंस्सा हुन्छ । त्यही सिद्धान्त अनुसार संवैधानिक आयोगमा प्रतिपक्ष दलको नेतालाई समावेश गरिएको हो । विपक्षी दलको नेतालाई प्रधानमन्त्रीले नबोलाएको हो भने यो गम्भिर विषय हो । राजनीतिमा पावर सेयरिङ हुन्छ । पार्टीमा ६०–४० को सुरुवात शेरबहादुर देउवाले गरेका हुन् ।
सभापति जी आफै अहिले पनि भागबण्डाको कुरा गर्ने अनि दोष अरुलाई लगाउने रु पार्टीको महाधिवेशन समयमा नै कुनैपनि हालतमा हुनुपर्छ । अहिले नै म्याद थप गर्ने कुनै कारण छैन् । हामीले अब आउने स्थानीय तथा आम चुनावलाई ध्यान दिएर पनि महाधिवेशन समयमा गर्नुपर्छ । अब आगामी चुनावमा कम्युनिष्टसंग प्रतिष्पर्धा गर्न कांग्रेसको नेतृत्व ओरल्ली मोरल्ली र पोलिटिकल्ली रुपमा सक्षम हुन जरुरी छ ।
मैले मुलुकको संविधान बनाउदा कम्युनिष्टसंग अक्षर अक्षरमा लडाई गरेको कांग्रेसको सिद्धान्तलाई जिताएको हुँ । १२ बुँदे देखि शान्ति संझौता गर्दा मैले प्रचण्डलाई भनेको थिए बाघको घोडा चढेपछि ओर्लदा आफैलाई खान्छ भनेर भनेको थिए । फेरि हिंसा गर्ने ठाँउ बाँकी राखेर संझौता हुन सक्दैन भन्ने मेरो अडान थियो । यही अडानका कारण शान्ति संझौता भएको थियो । यही कारणले माओवादीको हतियार एकातिर सेना अर्को तिर अनि पार्टी अर्कै तिर भएको हो ।
विप्लवले पनि आफ्नो गतिविधी सुधार गर्न जरुरी छ । फरि हिंसा अब मुलुकले धान्न सक्दैन । हिजो युद्ध गरेकाहरु अहिले कसरी ठुला सहर र महलमा बसेका छन् । कम्युनिष्टका नेताहरु भन्ने गरेका छन् सामन्ती युगको अन्त्य हुँदैछ भनेर तर हामीले देखिरहेका छौ, नयाँ नयाँ सामन्त जन्मिरहेको छ ।
सारा राज्यको स्रोत र शक्तिको उपयोग गरेर सरकार आफै नयाँ सामन्त जन्माउदै छ । भेनेजुएलालाई आर्दश मान्ने तर उपचारका लागि अमेरिका धाउने कम्युनिष्टको चरित्र यही हो । सत्ता कब्जा गरेर चुनाव जितिरहने पैसाले भोट किन्नु भनेको लोकतन्त्र विरुद्ध हो नेता पौडेलको भनाई रहेको छ ।