साना उद्यम, ठूलो प्रेरणा

रिपोर्ट नेपाल | 2022 Mar 14 | 07:41 am 1889

काठमाडाैं, फागुन ३०ः विकास र समृद्धिका कुरा हुँदा ठूलाठूला पूर्वाधार, उद्योगधन्दा र कलकारखानाका कुरा आउँछन्। नेपालको समृद्धिको बहसमा छायामा परेको मुद्दा साना उद्योगधन्दाको हो। ठूला उद्योग धन्दा खुल्नु पर्छ। तर यो होइन कि ठूलै कलकारखानाबिना समृद्धि सम्भव छैन। ठूलामात्रै उद्योग धन्दा हुने र ससाना कुटिर उद्योग नचल्ने वातावरण भए सीमित व्यक्ति धनाढ्य उद्योगपति र धेरै चाहिँ मजदुर हुन्छन्। धनी र गरिबको खाडल बढ्छ। आर्थिक समानताका लागि त ठूला र निश्चित उद्योगधन्दा मात्रै पोसिने होइन, गाउँघरमै सासाना उद्योग व्यवसाय चल्ने वातावरण राज्यले बनाउनुपर्छ। प्राकृतिक स्रोतको उपयोग गरी गाउँघरमै इलम गर्न प्रोत्साहन गर्ने हो भने रोजगारी र स्वरोजगारी बढ्छ, नागरिकको आर्थिक हैसियत उकासिन्छ। पर्सा जिल्लाको पर्सागढी नगरपालिका–२ कटानीकी टुकुकुमारी कार्कीलाई नै हेरौं न। उनले वैदेशिक रोजगारीमा जान लागेका श्रीमान्लाई रोकिन्। गाउँकै वनजंगलका रूखका पात टिपेर टपरी गाँस्न थालिन्। टपरी गाँस्ने इलम विस्तार गर्दै उद्योगकै रूपमा स्थापित गरिन्। हातबाट होइन मेसिनबाट पनि काम गर्न थालिन्। अनि स्थापित भयो उनको दुनाटपरीको लघुउद्यम। मध्यमवर्गीय हैसियत बनाउन उद्यमशीलताको बाटोमा टुकुटुकु हिँडेरै सफल हुन सकिने उदाहरण हुन् टुकुकुमारी। 

दुनाटपरी हाम्रो संस्कृति पनि हो। भोजभतेर र चाडपर्वमा दुनाटपरीमै खानेपिउने चलन हराइसकेको थियो, देशभरका टुकुकुमारीहरूको इलमबाट विस्तारै यो संस्कृतिले पुनर्जीवन पाउँदैछ। अर्का कुरा यो स्वास्थ्यसँग पनि जोडिन्छ। अचेल हामी सजिलो र सस्तोको लोभमा प्लास्टिक र फाइबरका भाँडाकुँडामा रमाइरहेका छौं। विज्ञहरूका अनुसार त्यस्ता भाँडाकुँडामा खानु क्यान्सर निम्त्याउनु हो। मधुमेहलाई स्वागत गर्नु हो। जिउमा पत्थरी जमाउनु हो। दुनाटपरी पनि त आखिर सजिला भाँडाकुँडा हुन्। सजिलो पनि उस्तै। त्यसमाथि झन् वातावरण मैत्री। मात्रै खाँचो के थियो भने बजारमा सजिलै पाइयोस् र हेर्दा पनि चिटिक्क होस्। टुकुकुमारीले जस्तै मेसिनबाट सिइएका दुनाटपरी लोभलाग्दै देखिन्छन्, चुहिनेखाले पनि हुन्नन्। यसको कच्चा पदार्थ आयात गर्नु पनि परेन। रुखका पात जब भुइँ झरेर माटो बन्थे, तिनैलाई बेलामा बटुलेर काम चलाउन सकिन्छ। पर्सामा टुकुकुमारीको उद्यम चल्दाको फाइदा साह्रै सुखद पो छ। वनजंगलबाट सुकेका पात टिप्न थालेपछि डँढेलो लाग्न छाडेको छ। धनजनको क्षति रोकिएको छ।

साना उद्यमले देशकै अर्थतन्त्रमा कसरी योगदान पुर्‍याउँछ भन्ने उदाहरण पनि हो दुनाटपरी उद्योग। नपत्याउँदो गरी अर्थतन्त्रमा यसको योगदान छ। कसरी भने यसले आयात प्रतिस्थापन गर्न सक्छ। वीरगन्ज भन्सार कार्यालयका यो नाका हुँदै आयात हुने वस्तुमा घरायसी प्रयोगका प्लास्टिकका भाँडाकुँडाको हिस्सा पनि उल्लेख्य  छ। जस्तो कि यो साल २२ करोड ५० लाखभन्दा बेसीका भान्सामा प्रयोग हुने प्लास्टिकजन्य वस्तु आयात भएको थियो। थाल र कचौराका रूपमा भित्रिएको त्यो प्लास्टिक आयात दुनाटपरी उद्योग पर्सामा मात्रै होइन, देशका धेरै ठाउँमा खोल्दा आयात प्रतिस्थापन असम्भव हुन्न। अझ स्वस्थकर यस्ता सामग्री हामीले निर्यातै पनि गर्न सक्छौं।

सरकारी तर्फबाट पनि लघुउद्यमलाई गरिबी निवारणको हतियार बनाउने नीति ल्याएको देखिन्छ। तर टुकुकुमारीहरू स्वप्रेरणाले लघुउद्यमी बन्दै गरिबी निवारणका उदाहरण बनेका हुन्। सरकारी नीतिले चाहिँ कसलाई प्रेरित गरेको छ ? थाहा छैन। हाम्रा सरकारी नीति, नियम र सुविधा गरिब र निमुखा अनुकूल नै कहाँ छन् र ? उद्यमी बन्न चाहनेले सरकारी नीतिको फाइदा उठाउन सक्ने प्रक्रिया नै हुँदैन। साँच्चै सरकारले गरिबी निवारणको एउटा हतियार लघु उद्यमलाई बनाउने हो भने यसलाई अभियानकै रूपमा चलाउनुपर्छ र जहाँ जे जे सम्भावना छ, त्यसका लागि तत्तठाउँका बासिन्दालाई प्रेरित गर्नुपर्छ। सरकारी नीतिको सदुपयोग गर्न उनीहरू आउने हैन कि उद्यमशीलताको हुटहुटी भएकाहरू कहाँ राज्य आफैं उपस्थित हुने सहजीकरण गरिदिनुपर्छ। विश्व दुनियाँमा अहिले त्यसै स्टाटअर्प (नवप्रवर्तन)लाई प्रेरित गरिएको हैन। साँच्चिकै यसले सिर्जनशील र पौरखी हातहरूलाई सदुपयोग गरेर समृद्धि हासिल हुन्छ भनेरै हो। नेपालले पनि दुनाटपरीमात्रै होइन गाउँटोल र वनजंगल या प्रकृतिमा यसै खेर गइरहेको स्रोत प्रयोग गर्ने उद्यमशीलताका लागि हौस्याउन जरुरी छ। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.