साधुलाई गाली

| 2023 Nov 20 | 08:31 am 293

काठमाडौँ, मङ्सिर ४।एक दुष्ट स्वभावका किशोर जसलाई मन लाग्यो उसैलाई गाली गरेर भाग्ने गर्थे । एक दिन उनले एउटा रूखमुनि ध्यानमग्न साधुलाई गाली गरे र त्यहाँबाट कुदे । उनले गाली खाएपछि साधु रिसाएर उनलाई लखेट्दै आउने र साधुलाई कुदाउन पाउँदा निकै रमाइलो हुने सोचेका थिए । तर, साधु चुपचाप बसिरहे । उनले किशोरलाई हेर्दा पनि हेरेनन् ।

साधुको यस्तो चाला देखेर ती किशोर फेरि फर्केर आए । थप ठूलो स्वरमा जानेजति अश्लील शब्दसमेत प्रयोग गरेर साधुलाई गाली गर्न थाले । साधु आँखा चिम्म गरेर मन्द स्वरमा भजन गाउन तल्लीन थिए । यी सबै देखिरहेका केही युवा साधुको नजिक आए र प्रश्न गरे– साधु महाराज, यो केटोले तपाईंलाई गाली दिइरहेको छ, तर तपाईं भने चुपचाप सहेर बसिरहनुभएको छ । किन प्रतिवाद गर्नुहुन्न ? साधुले मुसुक्क मुस्कुराउँदै भने– उसले गाली दिएर के भयो त ? मैले लिएको त छैन नि ! मैले नलिएपछि उसको गाली उसैसँग रहने त हो । ती युवाले पुनः भने– तर, साधु महाराज, यसले तपाईंलाई सुन्नै नसकिने अश्लील गाली दिइरहेको छ । साधुले भने– यो निकै नराम्रो काम हो । तर, यसबाट उसैको मुख भरिन्छ । अश्लील गालीले उसैको मुख फोहोर हुन्छ ।

साधुलाई गाली गर्ने किशोर पनि यी सब सुनिरहेका थिए । उनले मनमनै सोचे– साधु ठीकै भनिरहेका छन् । मैले अरूलाई गाली दिँदा उनीहरूले त्यसलाई लिन्छन्, रिसाउँछन् र मलाई कुट्न दौडिन्छन् । तर, साधुले मेरो गाली लिँदै लिएनन् । उनले नलिएको गाली त मेरै साथमा त रह्यो, मेरै मुख फोहोर भयो । ओहो ! मैले कति ठूलो गल्ती गरिरहेको रहेछु । किशोरले साधुको अगाडि गएर माफी मागे र आफूलाई शिष्य बनाएर ज्ञान प्रदान गर्न अनुरोध गरे ।

(नयाँ पत्रिकाबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.