काठमाडौं, कार्तिक १८ : दसैँको रमझम सुरु भइसकेको थियो। सेवाग्राहीको चाप कम भएको थियो, कर्मचारी घर जाने हतारोमा थिए। त्यहीवेला विराटनगर–१ का सत्यनारायण पोद्दार छोराको नागरिकता बनाउन मोरङ जिल्ला प्रशासन कार्यालय पुगे।
५५ वर्षीय सत्यनारायणसँग वडा कार्यालयको सिफारिस थियो। वडासचिवसँगै वडाध्यक्षले हस्ताक्षर गरेका थिए। यसअघि पनि छोराको नागरिकता बनाउन जिल्ला प्रशासन पुगेका उनलाई नागरिकता शाखाका कर्मचारीले ख्यालख्यालमै सोधे, ‘कति छोरा छन्, सधैँ नागरिकता बनाउन आउनुहुन्छ ?’
सत्यनारायण झस्किए, केही बोल्न सकेनन्। उनी अलमलिएको देखेपछि नागरिकता शाखाका कर्मचारीले सोधखोज गर्न थाले। फाइल पल्टाउँदै जाँदा त थाहा भयो, उनले नागरिकता लिन आएको सातौँ छोराका लागि रहेछ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीका अनुसार झुटो विवरण पेस गरेर नागरिकता बनाउन खोजेको पाइएको छ। ‘झुटो विवरण पेस गरी सिफारिस गराएर नागरिकता लिने प्रयास गरेको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न परिपत्र गरिएको छ,’ सिडिओ केसीले भने।
सत्यनारायणलाई प्रहरीले २४ असोजमा जिल्ला प्रशासन कार्यालयबाटै पक्राउ गरेको थियो। उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी मनोजकुमार केसीले बताए। नक्कली सातौँ छोरा प्रहरी स्रोतका अनुसार सत्यनारायणले झुटो विवरण बनाएर नागरिकता बनाइदिएको स्विकारेका छन्। प्रहरीको अनुसन्धानमा पनि उनले अहिलेसम्म सातजनालाई छोरा भनेर नागरिकता बनाइदिएको खुलेको छ।
उनले नागरिकता बनाइदिएका सातजनामा सेजित पोद्दार, पवन पोद्दार, मिथिलेस पोद्दार, जितेन्द्र पोद्दार, रोशन पोद्दार, धीरेन्द्र पोद्दार र राजेन्द्र पोद्दार हुन्।
किर्ते नागरिकतामा चार पक्राउ
त्यस्तै, किर्ते नागरिकता बनाएको अर्को घटनामा मोरङ प्रहरीले चारजनालाई पक्राउ गरेको छ। विराटनगर–९ का मोहमद सदरुल हक, बदरुल हक, मनुरुल हक र विष्णु साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरू चारैजना भारतीय नागरिक हुन्। मोहमद, बदरुल र मनुरुल दाजुभाइ हुन्। तीनैजनाले बाबुको नाम हैदर अली राखेर नागरिकता लिएको खुलेको छ। जेठा मनुरुलले सप्तरीको तत्कालीन बनौली गाविस–९ बाट र अन्य दुईले विराटनगर महानगरपालिका–९ बाट नागरिकता लिएको प्रहरीले जनाएको छ।