काठमाडौं, असार १ : आर्थिक वर्ष ०७५/७६ का लागि आज (शुक्रबार) सबै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो।
संघीय सरकारले कुल बजेटको १३.९८ प्रतिशत प्रदेश सरकारलाई पठाएको छ। संघीय सरकारले पठाएको बजेट र आन्तरिक स्रोतलाई आधार मानी प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम सबै प्रदेश सरकारले सार्वजनिक गरिसकेका छन्।
संघीय सरकारले संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते बजेट ल्याएको थियो। स्थानीय सरकारले भने असार १० गतेसम्ममा बजेट ल्याउनुपर्ने व्यवस्था छ।
कुन प्रदेशको बजेट कति ?
प्रदेश १ ले ३५ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउँदैछ । उक्त प्रदेशको अर्थ मन्त्रालय स्रोतका अनुसार ३५ अर्ब रुपैयाँ ननाघ्ने गरी बजेट ल्याइने तयारी भएको छ । उक्त बजेटका लागि अपराह्न ४ बजे प्रदेशसभा डाकिएको छ ।
प्रदेश २ ले २५ देखि ३० अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउँदैछ । उक्त बजेट आज दिउँसो २ बजे प्रदेशसभामा पेस गर्ने कार्यक्रम रहेको उक्त प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको छ ।
प्रदेश ३ ले भने करीब ३५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गर्दैछ । बजेटका लागि आज दिउँसो ३ बजे प्रदेशसभा डाकिएको छ ।
प्रदेश–४ ले २६ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।
प्रदेश ५ सरकारले ३० अर्ब रुपैयाँ बराबरको बजे ल्याउँदैछ । बजेटमा सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने मन्त्रालयले बताएको छ ।
यसैगरी कर्णाली प्रदेशले २३ अर्ब रुपैयाँको हाराहारीमा आगामी आवको बजेट ल्याउने तयारी गरेको छ । उक्त प्रदेशमा चालु आवमा छुट्याइएको रकमको हालसम्म ६ प्रतिशत मात्र रकम खर्च भएको छ । उक्त रकमलाई पनि जोडेर बजेट ल्याउन लागिएको हो ।
योजना कार्यान्वयनको आवश्यकतालाई हेरेर ऋणसहितको घाटा बजेट पनि ल्याउनेबारे छलफल भइरहेको अर्थ मन्त्रालयले बताएको छ ।
प्रदेश ७ ले २५ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। यसका लागि दिउँसो ३ बजे प्रदेशसभा बोलाइएको छ । सरकारले चालु आवमा संक्रमणकालीन व्यवस्थापन अन्तर्गत प्रत्येक प्रदेशलाई एक अर्ब २ करोड रुपैयाँका दरले एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।