काठमाडौं, मंसिर ४ : सुन तस्करी र सनम शाक्यको अपहरणपछि हत्यामा जिल्ला सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालत गुहार्ने भएको छ। हत्यामा पक्राउ गरिएका अभियुक्तहरू विराटनगर उच्च अदालतको आदेशमा धमाधम छुट्न थालेपछि सर्वोच्च अदालत जाने तयारी गरिएको हो।
थाई एयरवेजबाट ल्याएको साढे ३३ किलोग्राम सुन प्रहरीले बरामद गरेपछि हराएको थियो। त्यसको खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो। त्यसपछि, गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष छानबिन समितिले काठमाडौं गौरीधाराका चूडामणि उप्रेती ‘गोरे’लाई मुख्य अभियुक्त बनाएर सरकारी वकिलको कार्यालयमार्फत ७५ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
त्यसमा भएको थुनछेकको बहसमा पक्राउ परेका ४० जनालाई पुर्पक्षका लागि जेल पठाउने र पाँचलाई तारेखमा छोड्न आदेश दिएको थियो। तर, विराटनगर उच्च अदालतले प्रहरीका चार उच्च अधिकृतसहित आठजनालाई तारेखमा छोड्न आदेश दिएको छ। अझै १९ अभियुक्तले थुनामुक्तिको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्।
आठ अभियुक्त थुनामुक्त भएको र अन्य पनि थुनामुक्त हुने देखिएपछि जिल्ला सरकारी वकिलको कार्यालयले त्यसविरुद्ध सर्वोच्च अदालत जाने तयारी गरेको हो। ‘सबै तयारी भइसकेको छ, केही दिनमै सर्वोच्चमा निवेदन दिन्छौँ,’ सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीले भने। उच्च अदालतको आदेश रितपूर्वक नभए त्यसलाई उल्ट्याउन सर्वोच्च अदालत गुहार्न सकिने कानुनी व्यवस्था छ।
अहिले जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतबाट आदेशको सक्कलीप्रति मागेको छ। त्यो पाउनेबित्तिकै मुद्दाको मिसिलसहित सर्वोच्च अदालत पठाउने तयारी गरिएको सहन्यायाधिवक्ता पराजुलीले बताए।
थुनामुक्त भए आठ अभियुक्त
उच्च अदालतको आदेशमा एक प्रहरीका पूर्वउच्च अधिकृत, चार निलिम्बित प्रहरी अधिकृत र तीन गोरेका सहयोगी थुनामुक्त भएका छन्। पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसीलाई सादा तारेखमा रिहा गरिएको छ। त्यस्तै, व्यापारी प्रभात अग्रवाल (सञ्जय खेतान), रामकुमार तिवारी र मदन सिलवाललाई पाँच–पाँच रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
उनीहरूमध्ये पहिलो चरणमा पूर्वडिआइजी निरौला, एसपी खनाल र गोरेका सहयोगी तिवारीविरुद्ध सर्वोच्चमा निवेदन दिन लागिएको हो। त्यस्तै, धरौटीमा छाडिएका व्यापारी अग्रवाल र सिलवाललाई थुनामा राख्न सर्वोच्च गुहारिने भएको छ।