काठमाडौं । ७ माघमा त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद सकिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक गत चैत २० गते गठन गरिएको समितिको म्याद बिहीबार सकिएको हो ।
उक्त समितिले उक्त प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहे पनि टुंगोमा पुर्याउन सकेको छैन । मन्त्रालया स्रोतका अनुसार संगठित अपराधको छानविन प्रक्रिया लामो हुने भएकाले समितिको म्याद थप्नुभन्दा महानगरीय अपराध महाशाखालाई नै जिम्मा दिनेबारे छलफल भइरहेको छ ।
गृहमन्त्री रामबहादुर थापा बादल भने यस प्रकरणलाई टुंगोमा पुर्याउनुपर्ने पक्षमा देखिएको मन्त्रालय स्रोतको भनाइ छ । सोही कारण समितिको म्याद एक महिना बढाउन सकिनेबारे पनि मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ ।
तर, यस प्रकरणलाई महाशाखाले नै उठान गरेकाले उसैलाई जिम्मा दिएर टुंग्याइनुपर्ने पक्षमा केही गृह अधिकारीहरू देखिएका छन् ।
सुन कहाँ छ ?
यस प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’ लगायत अभियुक्तले आफूहरूभन्दा माथिल्लो तहकाे एसएपी श्याम खत्री मात्रै मुख खोलोका छन् । खत्री भन्दा माथिको कनेक्सनुबारे कसैले मुख खोल्न सकेको छैन ।
अहिलेसम्म सार्वजनिक विवरणमा नखुलेको रहस्य चाहिँ गायब भएको साढे ३३ किलो सुन कहाँ छ ? भन्ने हो । कसले लग्यो ? तस्करीकै क्रममा हराएको सुन खोजी, त्यस क्रममा सनम शाक्यको हत्या र त्यसपछि सुरु भएको सरकारी अनुसन्धानले सुन कसले गायब पार्यो भन्ने खोतल्न सकेको छैन ।
यति धेरै कुरा सार्वजनिक भइरहेको छ, यति धेरै व्यक्तिलाई पक्राउ गरी अदालत ल्याइएको छ तर ३३ किलो सुनचाहिँ कहाँ छ भन्ने सबैको जिज्ञासा रहेको छ ।’ यो प्रकरणसँग शरीर बन्धक र हत्यासम्मका अपराध जोडिए पनि समग्र कारण सुन नै रहेकाले त्यो फेला नपरेसम्म वास्तविकता ओझेलमै रहनेको छ ।