काठमाडौं, २८ जेठ : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य नाइके चुँडामणि उप्रेती गोरेलाई केन्द्रीय कारागार सुन्धाराको भित्रि भागमा रहेको गोलघर चलान गरिएको छ ।
गोलघरलाई कारागारभित्रको पनि कारागार भन्ने गरिन्छ जहाँ विशेष सुरक्षा र अन्य कैदीबन्दीको सम्पर्कभन्दा बाहिर हुने गर्छ गोरेविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा चलाउन तथा सुरक्षाको पूर्ण बन्दोबस्तका लागि बिराटनगरबाट काठमाडौं तानिएको हो । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमार्फत् थप कार्वाही अघि बढाउन काठमाडौं झिकाइएका गोरेलाई विशेष सुरक्षा दिनका लागि गोलघरमा राखिएको हो ।
सुन तस्करी र सनम हत्याकाण्डमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि गोरेलाई मोरङ कारागारमा चलान गरिएको थियो । कारागार स्रोतका अनुसार गृह मन्त्रालयको निर्देशनमा गोरेको सुरक्षाका लागि बिराटनगरबाट राजधानी झिकाएर गोलघर छानिएको हो । सोमबार गोरेसहित भुजुङ गुरुङ र डाक्टर डेविट भन्ने छिरिङ वाङगेल (घले) गुरुङ लाई ल्याइएको छ । तीनै जनालाई अलग–अलग स्थानमा राखिएको कारागार स्रोतले जानकारी दिएको छ ।