काठमाडौँ । सुन तस्करी र सनम शाक्य प्रकरणमा निर्दोष प्रहरी फसेको नेपाल प्रहरीका ३ पूर्व उच्च अधिकारीले बताइका छन् । आइतबार केही सञ्चारकर्मीसँग कुरा गर्दै पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी तथा पूर्वडिआईजी रमेश प्रसाद खरेलले बताएका हुन् ।
उनीहरूले छुट्टै छानबिनको माग समेत गरेका छन् । एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण संजेललाई फसाइएको भन्दै बैंकल्पिक संयन्त्र बनाएर फेरि छानबिन गर्नुपर्ने माग गरेका हुन् । आयोग, ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याको पुनः छानबिन गर्न सकिने उनीहरुको भनाइ छ । निष्ठावान प्रहरीलाई नै पक्राउ गरिँदा प्रहरी संगठनकै मनोवल गिर्दा पनि सो ‘अप्रेशन’बारे सम्पूर्ण जानकारी भएका तत्कालिन प्रहरी प्रमुखले केही बोल्न नसक्नु नालायकीपन भएको उनीहरुको भनाइ थियो ।
भण्डारी, ठकुरी र खरेलले सरकारद्वारा गठित छानबिन समितिको नेतृत्वप्रति पनि प्रश्न उठाएका छन् । निजामति कर्मचारीलाई छानबिन समितिको नेतृत्व दिइएको भन्दै उनीहरुले समितिका संयोजकसँग अनुसन्धान गर्ने उपाय नै नभएको जिकिर पनि गरेका थिए ।