साढे २ वर्षे बालककाे बली दिने झाँक्री पक्राउ

रिपोर्ट नेपाल | 2019 May 30 | 04:04 pm 2363

धनुषा, जेठ १६ :  भागवानलाई खुशी पार्न बालकलाई बली चढाउने एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।धनुषाको मिथिला नगरपालिका ६ बस्ने सत्रुधन साहको अढाई वर्षीय छोरा आर्यन समिर साहलाई बली चढाएको आरोपमा प्रहरीले स्थानीय ५५ वर्षीय सत्रुधन महतोलाई पक्राउ गरेको हो ।

महतोले २३ वैशाखमा बालकलाई अपहरण गरी सोही राति २ बजे बली दिएका थिए । २४ वैशाख बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा आर्यनको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले ६५ जनालाई नियन्त्रणमा लिएर गरेको सूक्ष्म अनुसन्धानको क्रममा धामीझाँक्री सिक्दै गरेका महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको हो । धामीझाँक्री विद्या सिकेर शक्तिशाली हुने अन्ध विश्वासमा परेर बालकको बली दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीनसातापछि बिहीबार सार्वजनिक गरेको छ । बालककी आमा रेनुदेवी घाँस काट्न गएको समयमा घरमा कोही नभएको मौकाछोपी महतोले बालकलाई ललाईफकाई अपहरण गरेका थिए । महतोले सिद्धि प्राप्त हुने अन्धविश्वासमा राति २ बजे धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएका थिए ।

झाँक्री महतोले आफ्नो घरमा कोही नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताए ।

बालक आर्यन बिरामी हुँदासमेत झाँक्री महतोले झारफुक गर्ने गरेका थिए । झाक्रीको घर आर्यनको घरबाट करिब १ सयमिटर टाढा रहेको छ । बालकको बुबा वैदेशिक रोजगारमा छन् । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडासमेत प्रहरीले बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.