सागका लागि दुलाहीझैं सिंगारियो रङ्गशाला

रिपोर्ट नेपाल | 2019 Nov 29 | 04:22 pm 3939

काठमाडौं, मंसिर  १३ : तेस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकूद (साग) तयारीका लागि नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रङ्गशाला बेहुलीझैं सिंगारिएको छ ।

सागको औपचारिक उद्घाटन हुन अब दुई दिन मात्र बाँकी हुँदा भव्य उद्घाटन गर्न रङ्गशालामा बलेको झिलीमिली बत्तीले वातावरणलाई उत्साहित बनाएको छ । आइतबार औपचारिक रूपमा सागको उद्घाटन हुनेछ ।

रङ्गशालामा अहिले विभिन्न किसिमका झिलीमिली बत्ती बलेका छन् भने दक्षिण एशियाली राष्ट्र अङ्कित झण्डा टाँगिएका छन् । विगत केही वर्षयतादेखि छायाँमा परेको दशरश रङ्गशालाले साँच्ची नै ध्यान तानेको छ शहरवासी र खेलप्रेमीको । रङ्गशाला मात्र होइन, राजधानी काठमाडौं नै अहिले सजिएको छ । खेलकूदका विभिन्न ब्यानर, मस्कट चिह्न, अफिसियल राष्ट्रको चिह्न र नेपालका विभिन्न सांस्कृतिक सम्पदा तथा इतिहास झल्किने गरी राजधानीलाई सजाइएको छ ।

सागका लागि काठमाडौंमा विदेशी खेलाडी तथा अफिसियलको आगमन पनि बढ्दो छ । तेस्रो पटक आयोजनाको मौका पाएको सागमा नेपालले कुनै कमी कमजोरी नराखी तयारीमा जुटेको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले दशरथ रङ्गशालामा बाँकी रहेका केही काम आज रातिसम्म सम्पन्न गरिने बताउँछन् ।

‘म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु, आज रातिसम्म दशरथ रङ्गशाला तयार हुनेछ’, उनले भने, ‘अब रङ्गशाला परिसर र खेलस्थलको केही सरसफाइको काम बाँकी छ, त्यो पनि आज रातिसम्म पूरा हुनेछ ।’

सागको टिकट व्यवस्था

सागमा हुने खेलका लागि इ–सेवाले अहिले बास्केटबल, फुटबल र भलिबल खेलका टिकट अनलाइनमार्फत बिक्री गरिरहेको छ । सागमा खेल हेर्न चाहने व्यक्तिले सागको इ–सेवा डटकम डट एनपीमा गएर टिकट खरीद गर्न सकिने राखेपले जनाएको छ । स

मूह चरणअन्र्गतको फुटबल खेल हेर्नका लागि दरशरथ रङ्गशलामा भीआइपी प्यारापिटतर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ रु ५०० टिकट तोकिएको छ । यता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्रिकेट खेलतर्फ भने नेपालको खेल हुँदा रु ५०० र अन्य देशबीचको खेल हँुदा रु २०० टिकट मूल्य तोकिएको छ ।

त्यसैगरी सागमा काठमाडौंमा हुने सवारी जामलाई व्यवस्थित गर्नका लागि ठूूला मालबाहक सवारी साधनलाई रिङ्रोडभित्र प्रवेश नगर्न अनुरोध गरिने, दशरथ रङ्गशाला वरिपरिका सवारी मार्गमा एकतर्फी लागू गर्ने, उद्घाटनका दिन रिङरोडभित्र बिजोर र समापनमा जोड नम्बरका सवारी साधन मात्र चलाउन पाउने नियम लागू गरिएको राखेपले जनाएको छ ।

त्यस्तै दर्शकका लागि पार्किङस्थल टुँडिखेलमा तोकिएको छ । सो स्थानमा पार्किङ गर्न काठमाडौं मल अगाडिको ढोका प्रयोग हुनेछ । रङ्गशालाभित्र भने भीभीआइपीको सवारी पार्किङ हुनेछ ।

मार्चपासमा नेपालको झण्डा पारसले बोक्ने

यही मंसिर १५ गते हुने सागको उद्घाटनमा हुने मार्चपासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको छ । सागको प्राविधिक उपसमितिले पारसको नाम समारोह उपसमितिलाई सिफारिश गरेको हो ।

केही महिनाअघि मात्र राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिएका पूर्व कप्तान खड्कालाई मार्चपासमा खेलाडीको नेतृत्व गर्दै नेपालको झण्डा बोक्न दिने गरी सिफारिश गरिएको राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले जानकारी दिए ।

साग काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा यही मङ्सिर १५ देखि २४ गतेसम्म हुनेछ । सागको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष समारोहबीच गर्ने कार्यक्रम तय भएको छ । राखेपका अनुसार उद्घाटनसत्र करीब सवा तीन घण्टाको हुनेछ ।

मार्चपासपछि नेपालको इतिहास, वर्तमान र भविष्यको मार्गनिर्देश गर्ने सन्देशसहितको विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । प्रतियोगितामा भाग लिन भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलङ्काका खेलाडी, प्रशिक्षक तथा अफिसियल आउनेक्रम शुरु भइसकेको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.