काठमाडौं, १७ साउन : सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको प्रकरणमा प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ । सांसद निरु पाललाई पेस्तोल देखाएर धम्की दिएको विषयमा प्रहरीले अनुसन्धान तीब्र बनाउँदै काठमाडौंका विभिन्न ठाउँबाट ७५ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको छ ।
घटनामा संलग्नको खोजीका लागि प्रहरीले काठमाडौमा रहेका ८० जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाएको छ । यस कार्यमा वानेश्वर वृत्तका डीएसपी गोविन्दराज काफ्ले र महानगरीय प्रहरी परिसर काठमाडौंका सादा पोशाकका प्रहरी निरीक्षक अनिल ठकुरी पनि खटिएका परिसरले जनाएको छ । घटनाको अनुसन्धानका लागि काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेल बिहीबार आफै वानेश्वर वृत्तमा आएका थिए ।
साउन १५ गते बेलुका ८ बजे सांसद नेपाल मजदुर किसान पार्टीकी सांसद निरु पाललाई काठमाडौंको बानेश्वरमा नचिनेका मानिसहरुले सांघातिक आक्रमण र पेस्तोल ताकेर धम्की दिएको घटना अहिले संसदमा वहसको विषय बनिरहेको छ । सांसद पालले बुधबार संसदीय सुनुवाइ समिति र बिहीबार संसदमा यस विषयमा जानकारी नै गराएकी छन् । काठमाडौंमा सांसदमाथि नै आक्रमण भएको घटना बाहिर आएपछि प्रहरी सक्रियताका साथ अनुसन्धानमा लागेको हो ।