सहिद कृष्ण माविको महायज्ञमा १ करोड ८० लाख रकम संकलन गरी सम्पन्न

रिपोर्ट नेपाल | 2019 Mar 09 | 07:41 pm 1738

तनहुँ(दुलेगौंडा), फागुन २५ : शुक्लागण्डकी–३ कवासेमा रहेको सहिद कृष्ण माविमा आयोजित श्रीमद् भागवत् धनधान्याञ्चल विराट शैक्षिक ज्ञान महायज्ञमा १ करोड ८० लाख रुपैया संकलन भएको छ । महायज्ञको शनिवार १७ लाख २६ हजार ६ सय ७३ रुपैया रकम संकलन भएको छ ।

विद्यालयको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञ आयोजना गरिएको हो । महायज्ञको समापन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्ने बताए । ‘हिजोआज विद्यालय चलाउन महायज्ञ गर्नुपरेको छ, उनले भने, यो त राज्यले गर्नुपर्ने कार्य हो ।

पूर्व मन्त्री समेत रहेका भण्डारीले पछिल्लो समयमा सनातन हिन्दुत्व भएको देशमा वास्तविक यथार्थ समाप्त गर्न खोजिएको बताए । यो देशको पहिचान भनेको सनातन हिन्दु धर्म हो, उनले भने, तर नेपालको राजनितिक दलहरु यस विषयमा गम्भिर बनेका छैनन । जानी नजानी, स्वार्थ वा विना स्वार्थ हो, थाहा भएन ।’ हरेक नागरिकको नैसर्गिक अधिकार धर्म भएको उनले बताए । ‘हिन्दु, इसाई, इस्लाम, बुद्ध सबै धर्मावलम्वीलाई सम्मान गर्नुपर्छ,’ उनले अगाडी भने, तर त्यो भन्दा माथि राष्ट्र भएकाले पहिचान जोगाउनुपर्यो । ’

नगरपालिकाका उपमेयर सविता रसाइलीले नगरले आवश्यकताको आधारमा विद्यालयलाई सहयोग गर्ने बताइन् । नेकपाका नेता दिनेश गौतमले विद्यालयमा ४ कोठे भवन निर्माण गर्ने प्रतिवद्धता जनाए । मुल समारोह समितिका संयोजक एव्म वडाध्यक्ष राम कुमार श्रेष्ठ महायज्ञ सफल पार्न सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे ।

कार्यक्रममा प्रमुख वाचक भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जी, उपवाचक खगेन्द्र अवस्थी, नेपाली काँग्रेसका नगर सचिव गोविन्द सिग्देल, महायज्ञका प्रवक्ता परशुमराम भण्डारी, आर्थिक तथा दान उत्प्रेरक उपसमिति संयोजक गजेन्द्र प्रसाद भण्डारी, सचिवालय संयोजक राजन रिमाल, प्रधानाध्यापक भुलाप्रसाद भण्डारी, शंकर पन्त लगायतले अब विद्यालयले फड्को मार्ने बताएका थिए ।

विद्यालयमा भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीले कथा वाचन गरेका थिए । महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान, दैनिक योग शिविर समावेश गरिएको थियो । महायज्ञ फागुन १७ गते शुरु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.