काठमाडौं, चैत ८ः सहायक सिडियो हुँ भनि ठगि गर्ने एक जनलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोट छेडागाउँ नगरपालिका २ स्थाई घर भएका २८ वर्षीय दिपक बुढा रहेका छन् ।
उनले आफूलाई सहायक सिडियो हुँ र हाल गृह मन्त्रालय अन्तरगत काम गर्दछु साथै गृह मन्त्रालयमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी ५/५ लाख लिने गरेको भन्ने गोप्य सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएको थियो ।
उक्त सूचनाको आधारमा बुझ्दै जाने क्रममा पाँचथरकी एक महिला र एक पुरुषलाई सहायक महिला विकास निरीक्षण र महिला तथा बालबालिका निरीक्षण कार्यालयमा नासु पदमा जागिर लगाईदिन्छु भनी १०/१० लाख माग गरी पाँच लाख लिएको खुलेको हो ।
उनलाई महाशाखाले खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग समन्वय गरी यही चैत ४ गते सुर्खेतबाट नियन्त्रणमा लिई उनको नाममा रहेको राप द्वितीय श्रेणी भएको नक्कली आइडी कार्डसमेत बरामद गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको ब्यूरोले जानकारी दिएको हो ।