काठमाडौं, जेठ १०: आधुनिक बहुउदेश्यीय सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर हडीया गाबिस वडा नम्बर १(साविक)का दिलिप कुमार चौधरी रहेका छन् ।
सरहकारीका सचिव ईन्द्र प्रसाद अर्यालले दिएको जाहेरी अनुसार दिलिप कुमार चौधरीलाई ठगी मुद्दामा निवेदन पेश गरेका थिए । काठमाडौं जिल्ला अदालतको २०६९ कात्तिक २७ को फैसलाले अभियुक्तलाई १ वर्ष कैद र बीस लाख पन्चानब्बे हजार दुई सय पैसठ्ठी रुपैया जरीवाना सजाय हुने ठहर गरेकाे थियो ।
उक्त फैसला सजाय वेरुजु रहेको हुँदा फरार रहेका अभियुक्तलाई २०७६ जेठ १० गते ईटहरी, सुनसरीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सुनसरी जिल्ला अदालतमा पेश गरिएको छ।
उनी २०६६ सालदेखी काठमाडौंको बनस्थलीस्थित आधुनिक बहुउदेश्यीय सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत थिए । अभियुक्त दिलिप कुमार चौधरीले आर्थिक बर्ष २०६७/६८ मा पटक/पटक गरी संस्थामा जम्मा हुन आएको रकम बीस लाख पन्चानब्बे हजार दुइ सय पैसठ्ठी बैंकमा जम्मा गरेको छु भनी संस्थाको स्टेटमेन्ट लगायतका कागजातहरु नक्कली बनाई रकम बैंकमा जम्मा नगरी ठगी गरेका थिए ।
चौधरीलाई सुनसरी जिल्ला अदालतमा पेश गरी अदालतको आदेश बमोजिम कैद भुक्तानको लागि आजै कारागार कार्यालय झुम्का पठाईएको छ ।