काठमाण्डौ ०७ चैत / प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध जनाएको छ। बैठक सुरू हुनेवित्तिकै कांग्रेस सांसदहरू आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएका छन्।
अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेलाई बोल्न समय दिएका छन्। उनले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि आफ्नो पार्टीले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको भन्दै आपत्ती जनाइन्।
उनले गृहमन्त्रीमाथि अनुसन्धान गर्न सरकारले संसदीय समिति बनाउन मानेन भने यो सरकारलाई सदन नचाहेको रहेछ भन्ने बुझ्नुपर्ने जिकिर गरिन्
एउटै मुद्दाका दिपेश पुन पक्राउ पर्ने र लामिछाने कसरी गृहमन्त्री बने ? भन्दै प्रश्न समेत गरिन्। सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नसक्ने उल्लेख गरिन्।
सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने उनको भनाइ छ ।
कांग्रेसको माग बमोजिम हिजो प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा जवाफ दिए पनि गृहमन्त्रीको वचाउ गरेको भन्दै कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।